
दोहाः नबिल बैंकले कतारमा रहेका नेपाली आप्रवासी श्रमिकलाई लक्षित गरी सुरक्षित बैंकिङ कारोबारसम्बन्धी चेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । कतारको र्याडिसन ब्लु होटलमा आयोजित ‘घर त नेपाल’ शीर्षकको कार्यक्रममा एक सयभन्दा बढी नेपाली आप्रवासी श्रमिकको सहभागिता थियो ।
नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड र नबिल स्टक डिलर लिमिटेडको समन्वयमा आयोजित कार्यक्रममा नबिल बैंकका विभिन्न विभागका प्रतिनिधिले रेमिट्यान्स, निक्षेप, डिजिटल बैंकिङ, कर्जा तथा लगानीका साथै वित्तीय सचेतना, वित्तीय सेवाको उपयोग, बचत र लगानीका सम्बन्धमा अन्तरक्रियात्मक छलफल गरेका थिए ।
कार्यक्रममा विदेशबाट फर्किएका नेपाली कामदारहरूको उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले ल्याइएको ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’ को बारेमा जनकारी दिइएको थियो ।
त्यस अवसरमा कतारका लागि नेपाली राजदूत रामेशचन्द्र पौडेलले औपचारिक माध्यमबाट रकम नेपाल पठाउँदा नेपालको सम्रग अर्थतन्त्रलाई फाइदा पुग्ने भएकाले पैसा पठाउँदा औपचारिक माध्यमको प्रयोग गर्न आग्रह गरे ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले नेपाल र कतार दुवै देशको अर्थतन्त्रको विकासमा नेपाली श्रमिकहरूको महत्त्वपूर्ण योगदान रहेकामा जोड दिए ।
कतारमा भारतीयपछि नेपाली श्रमिकको संख्या सबैभन्दा धेरै रहेको उल्लेख गर्दै उनले आफूहरू यहाँ आउनुको उद्देश्य डिजिटल सेवाबारे जानकारी गराउनु रहेको बताए ।
जसमा कतारको मोबाइल प्रयोग गरी अनलाइनमार्फत बैंकमा खाता खोल्न, कर्जाका लागि आवेदन दिन तथा बैंकअन्तर्गतका अन्य कम्पनीमार्फत एसआईपी, म्युचुअल फण्ड र सेयर बजारमा लगानी गर्न सकिने उनको भनाइ थियो ।
गैरआवासीय नेपाली संघ (एनआरएनए), कतारका अध्यक्ष रमेश भट्टले प्रवासी समुदायमा वित्तीय सचेतनाको आवश्यकतामा जोड दिए ।
नबिल बैंकले लामो समयदेखि कतारमा रहेका नेपाली श्रमिकलाई नेपालमा पैसा पठाउनका लागि सेवा प्रवाह गर्दै आएको छ । कतारबाट श्रमिकहरूले पठाएको पैसा नेपालका कुनै पनि बैंक खातामा तुरुन्तै जम्मा गर्न सकिन्छ ।
बैंकले रेमिट्यान्स पठाउने ग्राहकका लागि विशेष बचत खाता, डिजिटल बैंकिङ सुविधा तथा सरल ऋण सेवा प्रवाह गरिरहेको छ ।
नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकहरूमध्ये एक हो । बैंकले २४ लाखभन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३२० एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।