काठमाडौं । बैंकरहरूले कृषि विकास बैंकको लहानस्थित शाखा लगायत अन्य विभिन्न बैंकका केही शाखामा कार्यरत कर्मचारीहरूप्रति लक्षित गरी सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा कपोलकल्पित तथा भ्रमपूर्ण समाचारप्रति आपत्ति जनाएका छन्।
शुक्रबार वाणिज्य बैंकको छाता संगठन नेपाल बैंकर्स संघ, डेभलमेन्ट बैंकर्स संघ र नेपाल वित्तीय संस्था संघले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै कर्मचारीप्रति लक्षित गरी भ्रमपूर्ण समाचार छाप्ने, बैंकमा तालाबन्दी, ढुङ्गामुढा तथा होहल्ला गर्नेलगायतका गतिविधिप्रति आपत्ति जनाएका हुन् ।
यस्ता खालका गतिविधिले गर्दा ग्राहकहरू बैंकिङ सेवा प्रयोग गर्ने अधिकारबाट वञ्चित भएकाे संगठनहरूले जनाएका छन् ।
बैंक तथा वित्तीय संस्थाहरुले पारदर्शी रूपमा नियामक निकायबाट जारी गरिएको नीति/निर्देशन तथा विभिन्न ऐनको अधिनमा रही निक्षेप संकलन, कर्जा प्रवाह तथा असुली जस्ता कार्यहरू गर्दै आइरहेको र लिलामलगायत अन्य प्रक्रिया चित्त नबुझेको अवस्थामा ग्राहक नियमानुसार कानुनी प्रकृयामा जानसक्ने विज्ञप्तिमा उल्लेख छ ।
बैंकिङजस्तो संवेदनशील सेवा नै अवरुद्ध हुने गरी बाधा सिर्जना गर्नु कदापि उचित नहुने संगठनहरूले जनाएका छन् ।
संगठनहरूले सामाजिक सञ्जालहरूमा देखिने गलत तथा भ्रामक टिप्पणीमा कुनै ध्यान नदिन समस्त ग्राहकवर्ग तथा आम जनमानसमा अनुरोध गर्नुका साथै सम्बन्धित सरोकार निकायले सम्प्रेषण गरेको सूचना/समाचारलाई मात्र आधिकारिक रूपमा लिनसमेत अनुरोध गरेका छन् ।