काठमाडौं । कृषि विकास बैंकले लहान शाखामा कर्जा असुली तथा लिलामी सम्बन्धमा आएका भ्रमपूर्ण समाचारको खण्डन गरेको छ।
बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै बैंकको शाखा कार्यालय, लहानका प्रवन्धकलगायतका कर्मचारीहरुलाई जोडेर विभिन्न सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरुमा प्रकाशित कपोलकल्पित तथा भ्रमपूर्ण समाचार आएकोप्रति बैंकले गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ ।
साथै बैंकले अत्यावश्यक सेवाअन्तर्गत रहेको बैंकिङ सेवा नै ठप्प हुनेगरी, दैनिक कामकाज गर्न बाधा पुग्ने गरी बैंकमा तालाबन्दी, ढुंगामुढा तथा हो-हल्ला गर्नुका साथै बैंकिङ सेवा बन्द गर्ने लगायतको कार्यप्रति आपत्ति जनाएकाे छ ।
यसरी सत्यतथ्यभन्दा बाहिर गई वास्तविकता भन्दा फरक ढंगले सम्प्रेषित समाचार तथा अराजक गतिविधिले यस बैंकका ग्राहक, सरोकारवाला एवं सर्वसाधारणमा भ्रम सृजना भएको बैंकले जनाएकाे छ ।
बैंकले यस्ता खालका अमर्यादित एवं अवाञ्छित व्यवहार गरी बैंकजस्तो संवेदनशील स्थानमा भएको घटनाको सम्बन्धमा सबैको जानकारीको लागि सम्प्रेषण गर्न आवश्यक देखिएकोले यो प्रेस विज्ञप्ति जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तीमा जनाइएअनुसार कृषि विकास बैंकको लहान शाखा कार्यालयबाट मिति २०७७/११/१५ देखि सरल कृषि कर्जा र व्यक्तिगत ओभर ड्राफ्ट शीर्षक अन्तर्गतको कर्जा उपभोग गर्न भएका कर्जा ग्राहक जिल्ला सिराहा, लहान नगरपालिका वडा नं. २ बस्ने रामचन्द्र यादवले बैंकलाई भुक्तानी गर्नुपर्ने सावाँ एवं ब्याज कर्जा सम्झौता बमोजिम तोकिएको समयमा भुक्तानी नगरी निर्धारित भाखा नाघेको र लामो समयसम्म पनि कर्जा भुक्तान नगरेपश्चात बैंकले पटक-पटक मौखिक एवं लिखित रुपमा पत्राचार गरी ताकेता गरेको थियो ।
यसै सन्दर्भमा २०७१/१/२० मा २१ दिने सार्वजनिक सूचनामार्फत जानकारी गराएको, उक्त समयावधि भित्र समेत कर्जा राफसाफ नगर्ने भएकोले बैंकको प्रचलित कर्जा असुली कार्यविधि तथा प्रचलित नियम बमोजिम कर्जा असुलीको थप प्रकृया स्वरुप धितो लिलामीको लागि पहिलो पटक मिति २०७९/१०/२३ गते, दोस्रो पटक मिति २०८०/०२/१७ गते र तेस्रो पटक मिति २०८०/०८/०४ गते राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशन गरी भाखा नाघेको कर्जाको सावाँ र व्याज तिर्न वारम्वार मौका दिएको अवस्थामा समेत भाखा नाघेको कर्जाको सावाँ र व्याज भुक्तानी गर्न चासो नदिई बसेको हुँदा नियमसम्मत चौथो पटक मिति २०८१/०६/०८ मा धितो लिलामी सूचना प्रकाशन गर्दा रीतपूर्वक प्राप्त शीलबन्दी बोलपत्र मध्येबाट आवश्यक प्रकृया पूरा गरी बोलपत्र स्वीकृत गर्नुका साथै शीलबन्दी बोलपत्र कवोल गर्ने व्यक्तिको नाममा मालपोत कार्यालयमा दाखिला गरेको बैंकले जनाएकाे छ ।