News Portal

  • मेगा बैंक नेपाल लिमिटेडले गर्यो उच्च लाभांश घोषणा

    आर्थीकसंसार संवाददाता२ पुस, २०७७
    १४४१ पटक
    २ पुस, २०७७

    काठमाडौं । मेगा बैंक नेपालले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १३.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । जुन पछिल्लो तीन वर्षयताकै उच्च लाभांश दर हो ।
    पुस २ गते बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस र ३.०५ प्रतिशत नगद (कर समेत) गरी कूल १३.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
    सो प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले उक्त लाभांश पाउने छन् ।
    हाल बैंकको चुक्ता पुँजी १३ अर्ब ३२ करोड रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस पछि बैंकको चुक्ता पुँजी १४ अर्ब ६५ करोड रुपैयाँ नाघ्ने छ ।
    सो प्रस्तावित लाभांश गत तीन वर्षयताकै उच्च लाभांशदर हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ११.७५ प्रतिशत लाभांश (नगद मात्रै), आर्थिक वर्ष २०७४/७५ को नाफाबाट १ प्रतिशत बोनस र ६.८५ प्रतिशत नगद गरी ७.८५ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यस्तै, आर्थिक वर्ष २०७३/७४ को नाफाबाट सेयरधनीले १०.७५३९ प्रतिशत बोनस सेयर मात्रै पाएका थिए ।
    यसअघि अर्थात आर्थिक वर्ष २०७२/७३ को नाफाबाट भने बैंकले सेयरधनीलाई १३.२५ प्रतिशत बोनस र ०.७ प्रतिशत नगद गरी १३.९५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

    प्रतिकृया दिनुहोस्