News Portal

  • साल्ट ट्रेडिङ कर्पोरेशनको ५३औं वार्षिक साधारणसभा सम्पन्न

    आर्थिकसंसार संवाददाता३० मंसिर, २०७७
    १४७१ पटक
    ३० मंसिर, २०७७

    साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ५३औं वार्षिक साधारणसभा आज सम्पन्न भयो । कर्पोरेशनले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै सामाजिक दुरी कायम राख्दै केन्द्रीय कार्यालय परिसरभित्र साधारणसभा सम्पन्न गरेको हो । कर्पोरेशनका अधिकांश सेयर सदस्यहरु जुममार्फत साधारणसभामा सहभागी भएका थिए ।
    कर्पोरेशनले कम्पनी ऐन २०६३ को अधीनमा रही तयार पारिएको ५३औं वार्षिक प्रतिवेदनका साथै २०७६ साल आषाढ मसान्तसम्मको कर्पोरेशनको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा कर्पोरेशनले गरेको विभिन्न क्रियाकलापहरुको बारेमा छलफल एवम् समीक्षा गरी आगामी दिनहरुमा अझ बढी प्रभावकारी ढंगले अगाडि बढ्न मार्गदर्शनका साथ वार्षिक प्रतिवेदनलाई अनुमोदन गरेको छ ।
    कर्पोरेशनको प्रस्तुत वर्षको कारोबारलाई तुलनात्मक रुपमा मूल्याङ्कन गर्दा नुन, रासायनिक मललगायत व्यापारिक कारोबार सन्तोषजनक रहेको र विभिन्न क्षेत्रको लगानी उपलब्धिमुलक रहेको छ । कर्पोरेशनले गुणस्तरीय वस्तुहरुको कारोबार गरी आम उपभोक्तालाई खाद्य वस्तु, रासायनिक मल तथा अन्य वस्तुहरुको सरल र सहज आपूर्ति गरी सामाजिक उत्तरदायित्व वहन गर्दै रु. ८ अर्ब २५ करोडको कारोबार गर्न सफल भएको छ । उक्त कारोबारबाट कर्पोरेशनले आ.व. २०७५/०७६ मा कुल (Gross) मुनाफा ७३ करोड १४ लाख आर्जन गर्न सफल भएको छ ।
    कर्पोरेशनले अँगालेको व्यापार विविधिकरणको नीतिअनुरुप कर्पोरेशनको चुक्ता पुँजीको आवश्यकतालाई दृष्टिगत गरी यस वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांश वापत रु. १,५३,५७,५८०। र रु.३,८३,९३,९५०। बराबरको २५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्तावलाई स्वीकृत गरेको छ ।
    विगत वर्षमा कर्पोरेशनले आयात गरेको चिनीमध्ये २५०० मे.टन चिनी भन्सार विन्दुमा आइपुग्ने समयमा नेपाल सरकारबाट विदेशी चिनीको आयातमा प्रतिबन्ध लगाउने निर्णयले उक्त चिनी धेरै महिनासम्म भन्सार विन्दुमा रोकिएको कारण कर्पोरेशनको चिनीको कारोबारमा कमी एवम भन्सारमा रोकिएको कारण डेमरेज चार्ज वापत तिर्नु परेको रकमको कारण आर्थिक भार पर्न गएको छ ।
    विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कठिन संक्रमणले देशको विद्यमान आर्थिक अस्थिरता, बढ्दो प्रतिस्पर्धी बजारसमेत यथावत नै रहेको यस्तो कठिन परिस्थितिमा पनि कर्पोरेशनले विश्वसनीय र गुणस्तरीय सेवा पुर्याउँदै आफ्नो कारोेवारमा सकारात्मक सुधारसहित अगाडि बढेको कर्पोरेशनका अध्यक्ष लक्ष्मीदास मानन्धरले बताए ।
    लकडाउनमा समेत कर्पोरेशनले अत्यावश्यक वस्तुको आपूर्ति सहज रुपमा होस भन्ने हेतुले आफ्ना बिक्री कक्षहरुमार्फत र डेलिभरि भ्यानमार्फत टोलटोलमा एस.टी.सी.को नारासहित आम उपभोक्ताको घरदैदैलोसम्म सेवा पुर्याउँदै आएको कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले बताइन । व्यावसायिक मर्यादा कायम राख्दै र सामाजिक उत्तरदायित्वको मर्मलाई सम्मान गर्दै कर्पोरेशनले देशका आम नागरिक एवं उपभोक्ताहरुलाई उच्च गुणस्तरको वस्तुहरु उचित मूल्यमा वर्षभरी उपलब्ध गराउनेतर्फ प्रतिबद्ध रही कार्य गरिरहेको पनि प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताइन् । साथै उनले दशैं, तिहार, छठ जस्तो चाडपर्वमा सुपथ मूल्यका पसल सञ्चालन गरी आम उपभोक्तलाई सेवा प्रदान गरेको स्पस्ट पारिन ।
    भविष्यप्रतिको धारणा सम्बन्धमाः
    – नेपाल सरकारको नीतिअनुसार आयोडिनको कमीका कारण आम नागरिकमा उत्पन्न हुने शारीरिक तथा मानसिक विकृति हटाउन सञ्चालित कण्ठरोग नियन्त्रण कार्यक्रमको उपादेयतालाई दृष्टिगत गर्दै देशका आमनागरिकहरुको स्वास्थ्यलाई सकारात्मक प्रभाव पार्ने उद्देश्यले कार्यक्रमलाई निरन्तरता दिने नीति अवलम्वन गरेका छौ । यस कार्यक्रमबाट आगामी दिनमा दुर्गम क्षेत्रका आम उपभोक्ताहरुको जनस्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने हाम्रो विश्वास छ । NDHS २०१६ को प्रतिवेदनअनुसार नेपालमा ५ वर्ष मुनिका ९४.५ प्रतिशत बालबालिकाले उचित मात्रामा आयोडिनयुक्त नून प्रयोग गरेको पाइएकाले नेपालले USI लक्ष्य पूरा गरेको छ ।
    – नेपाल सरकारले अनुदानमा बिक्री वितरण गर्ने रासायनिक मलको लागि छुटयाएको अनुदान रकमको ३० प्रतिशत कर्पोरेशनलाई प्राप्त हुने रकमबाट युरिया, डिएपी, पोटास मलबाहेक अन्य क्षेत्रका किसानहरुलाई समेत सहज रुपमा थप प्रकारको गैरअनुदानित रासायनिक मलहरु सिङ्गल सुपर फस्फेट, अमोनियम सल्फेटसमेत आयात गरी बिक्री वितरण गर्दै आइरहेको छ ।
    – नेपाल सरकारको नीतिको अवलम्बन गर्दै एउटा जिम्मेवार संस्थाको रुपमा मुलुकभर गुणस्तरीय वस्तुहरुको आपूर्ति व्यवस्था मिलाउँदै कर्पोरेशनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न प्रमुख आवश्यकता रहेको छ । सोको लागि नवीनतम एवं सृजनशील कारोबारको खोजी गर्दै व्यापार विविधिकरणतर्फ उन्मुख रहेका छौं ।
    – एकीकृत नमूना वस्ती विकास गर्ने हेतुले व्यवस्थित वस्तीको विकास गर्न कर्पोरेशनले आफ्नो सहायक कम्पनी उपहार हाउजिङ्ग कम्पनी लिमिटेडमार्फत चन्द्रागिरी नगरपालिकास्थित आफ्नै जग्गामा ८ वटा भूकम्प प्रतिरोधी भवन निर्माण गरी बिक्री वितरण सुरु गरेको छ ।
    – कर्पोरेशनले नेपाल सरकारबाट सुम्पिएको दायित्व पूर्ण सक्रियताका साथ सम्पन्न गर्दै आएको र भविष्यमा पनि गर्दै जाने छ ।

    प्रतिकृया दिनुहोस्