News Portal

  • सूर्यज्योतिबाट बाहिरिएका पवनकुमार भोलिदेखि आइएमई लाइफको सीईओ बन्ने

    आर्थीकसंसार संवाददाता१० मंसिर, २०८१
    ३३ पटक
    १० मंसिर, २०८१

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सबाट बाहिरिएका पवनकुमार खड्का आइएमई लाइफको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्ने भएका छन् । सोमबार सूर्यज्योति लाइफबाट औपचारिक रूपमा बाहिरिएका खड्का मंसिर ११ गतेदेखि आईमएई लाइफको सीईओ बन्ने भएका हुन् ।

    आइएमई लाइफको सीईओ बन्नकै लागि खड्काले सूर्यज्याेति लाइफबाट राजीनामा दिएका हुन् । सूर्यज्योति लाइफमा उनले नायब कार्यकारी प्रमुख (डीसीईओ) बाट पदबाट शुक्रबार राजीनामा दिएका थिए । सोही दिन सूर्यज्योतिको बोर्ड बैठकले आज सोमबारदेखि लागू हुने गरी उनको राजीनामा स्वीकृति गरेको थियो । आजसम्म सूर्यज्योतिमा काम गरिरहेका उनको सो कम्पनीबाट आज बिदाइसमेत गरिएको छ ।

    भोलिदेखि आइएमई लाइफमा आबद्ध भएर काम गर्ने खड्काले विकासन्यूजलाई बताए । उनले भने, ‘भोलिदेखि आइएमईमा आवद्ध हुन्छु, सीईओको कन्ट्याक्ट भोलि नै फाइनल हुन्छ ।’

    तीन महिनादेखि आइएमई लाइफ व्यवस्थापकीय नेतृत्वविहीन छ । गत भदौ ९ गते कवि फुयाँलले सीईओ पदबाट राजीनामा दिएपछि कम्पनी नेतृत्वविहीन बनेको हो । त्यसपछि कम्पनीले सीईओका लागि विभिन्न जीवन बीमा कम्पनीका डीसीईओहरूसँग छलफल बढाएको थियो ।

    बीमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिका बमोजिम कम्पनीमा सीईओ पद रिक्त रहेको ३ महिनाभित्र पदपूर्ती गर्नुपर्ने व्यवस्था छ । सोही बमोजिम कम्पनीले खड्कालाई सीईओमा भित्र्याउने निर्णय गरेको हो ।

    खड्काले तत्कालीन सूर्य लाइफको सीईओ भएर काम गरिसकेका छन् । साविक सूर्य लाइफ र साविक ज्योति लाइफ मर्जपछि उनी डीसीईओ भएर काम गरिरहेका थिए । बीमा क्षेत्रको १० वर्ष बढी अनुभव रहेका उनले नेपाल लाइफबाट बीमा क्षेत्रको करिअर सुरु गरेका हुन् ।

    नेपाल लाइफमा नायब महाप्रबन्धक (डीजीएम)बाट काम सुरु गरेका खड्का चिफ म्यानेजरबाट बाहिरिएका थिए । त्यसपछि उनी विशाल सिमेन्ट कम्पनीको सीईओ बनेका थिए । उनी साविक सूर्य लाइफको सीईओ बनेर बीमा क्षेत्रमा फर्किएका थिए ।

    त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका खड्का चार्टर्ड एकाउन्टेन्ट (सीए) समेत हुन् । उनीसँग बीमा, सिमेन्ट उद्योग, हाइड्रोपावर, अडिट क्षेत्रमा काम गरेको अनुभव रहेको छ ।

    प्रतिकृया दिनुहोस्