News Portal

  • प्राइम लाइफ इन्स्योरेन्सको बीमाशुल्क घरैमा बसेर भुक्तानी

    आर्थिकसंसार संवाददाता२९ मंसिर, २०७७
    १८४४ पटक
    २९ मंसिर, २०७७

    काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो ग्राहकहरुको बीमाशुल्क लगायतको भुक्तानी प्रक्रिया सरलताका लागि अनलाइन सेवाको विस्तार गरेको छ । कम्पनीले आज (मंसिर २९ गते) एक समारोहकाबीच नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)सँग कनेक्ट आइपीएस तथा एनसीएचएल आइपीएसलगायतको सेवाको लागि सम्झौता गरेको छ ।
    सो सम्झौतामा प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराई तथा एनसीएचएलका तर्फबाट सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।
    यो सेवासँगै अब बीमितहरुले घरमै बसी बीमाशुल्कलगायतको भुक्तानी गर्न सक्नेछन् भने अन्य सम्वद्ध पक्षहरुले समेत भुक्तानी प्राप्त गर्न कार्यालयमा आउनु नपर्ने भएको छ । ग्राहकहरुलाई छिटो, छरितो सहज तथा विश्वसनीय सेवा प्रदान गर्दै आइरहेको प्राइम लाइफले थप सुविधास्वरुप घरमै बसी सुरक्षित रुपमा भुक्तानीका विविध सेवा सुविधा प्राप्त गर्न सक्ने भएका छन् ।
    ग्राहक मैत्री सेवामा जोड दिँदै आइरहेको कम्पनीले यो सेवासँगै ग्राहकहरुमा थप सन्तुष्टि बढ्ने विश्वास गरेको छ । कम्पनीका ग्राहकहरुले इसेवा, फोनपे, खल्तिजस्ता एप्सबाट समेत घरमै बसी अनलाइन सेवामार्फत बीमाशुल्कलगायतको भुक्तानी गरिरहेकामा कनेक्ट आइपिएस तथा एनसिएचएल आइपिएसमार्फत समेत बीमाशुल्क भुक्तानी गर्न सक्ने भएका छन् ।
    कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले हालको विषम परिस्थितिमा ग्राहकहरुमा डिजिटल भुक्तानी सुविधा प्रदान गरी प्रभावकारी सेवा दिन सकिने जानकारी गराउँदै आगामी दिनमा समेत कम्पनीले ग्राहकहरुमा थप सेवा सुविधा प्रदान गर्दै जानेमा जोड दिने अवगत गराए । यस कम्पनीले देशभरमा विभिन्न १५० भन्दा बढी स्थानहरुबाट छिटो तथा सहज जीवन बीमा सेवा उपलब्ध गराउँदै आएको छ ।

    प्रतिकृया दिनुहोस्