News Portal

  • जनतालाई सेवा दिँदा बर्दी र पद नहेर्ने, चाडपर्वमा यात्रुहरूलाई घरसम्मै पुर्‍याउने

    आर्थीकसंसार संवाददाता२८ भदौ, २०८१
    ४८ पटक
    २८ भदौ, २०८१

    काठमाडौं । नेपाल सरकारका सचिव एकनारायण अर्यालले जनतालाई सेवा दिने कुरामा बर्दी र पद नहेरी काम गर्न निर्देशन दिएका छन् । चाडपर्व नजिकिएसँगै बजारमा हुने कालोबजारी रोक्नका लागि सबै सम्बन्धित निकायका जिम्मेवार व्यक्तिहरूले बर्दी र पद नहेरी काम गर्न उनले निर्देशन दिएका हुन् ।

    शुक्रबार काठमाडौंमा आयोजित ‘बजारको सुशासनमा देखिएका चुनौती र हाम्रो दायित्य’ विषयक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले चाडपर्वको समयमा राजनीतिक झाेला छाडेर जनताको झोला बोक्न पनि आग्रह गरेका छन् । ‘खास गरेर चाडपर्वको समयमा जिम्मेवार पदाधिकारीहरूले राजनीतिक झोला छाडिदिनुहोस्, पद र बर्दी पनि बिर्सिदिनुहोस्,’ उनी भन्छन्, ‘सबै कुरा बिर्सिएर जनताको लागि काम गरौं, जनताको सेवामा लाग्न म अनुरोध गर्छु ।’

    चाडपर्वको समयमा कुनै पनि बहानामा मिशावट भएको वा मूल्यवृद्धि भएको कुरा आउन नहुने सचिव अर्यालले बताए । ‘कुनै पनि बहानामा मिशावट भएको, मूल्यवृद्धि भएको भन्ने कुरा जनताको गुनासो आउनु भएन,’ उनी भन्छन्, ‘कसैबाट कालोबजारी भइरहेको छ भन्ने कुरा आउनु भएन । त्यहीअनुसारले काम गर्नुपर्‍याे सबैजनाले ।’

    जनताको हकहितमा काम गर्दा कुनै समस्या भए आफूलाई सम्पर्क गर्नसमेत सचिव अर्यालले  भनेका छन् । ‘नेपालमा कानुन नभएको होइन, कानुन छ त्यसैले अब हामी यो समयमा कसले कति काम गर्‍याैं भन्ने कुरा हेर्छौं । सोहीअनुसार उहाँहरूको मूल्यांकन हुन्छ,’  उनी भन्छन्, ‘निर्धक भएर जनताको सेवामा खटिनुपर्‍याे, जनताको सेवामा खटिँदा कुनै समस्या आए मलाई सम्पर्क गर्नुस् त्यसको समाधान म गरौंला ।’

    त्यस्तै, कार्यक्रममा यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले चाडपर्वलाई ध्यानमा राख्दै असोज महिनाभर यात्रुवाहक सवारीसाधनलाई प्राथमिकतामा राखेर सेवा दिन व्यवस्था मिलाइदिन सरकारसँग आग्रह गरेका छन् ।

    उनले सो समयमा धेरै यात्रुहरूलाई घरसम्म पुर्‍याउनुपर्ने जिम्मेवारी भएकोले अन्य नम्बर प्लेटका सवारीसाधनभन्दा पनि कालो नम्बर प्लेटका गाडी अर्थात् यात्रुबाहक सवारीसाधनलाई प्राथमिकता दिन उनले आग्रह गरेका हुन् ।

    उनले चाडपर्वको समयमा यात्रा गर्दा टिकट काटेर मात्रै यात्रा गर्न आग्रह गरेका छन् ।  चार्डपर्वको समयमा हुनसक्ने दुर्घटनाका घटनाहरू नियन्त्रण गर्नका लागि पनि टिकट गरेर मात्रै यात्रा गर्न अनुरोध गरेका हुन् ।

    ‘चाडपर्वको समयमा यात्रा गर्दा अनलाइन होस् या जुनसुकै माध्यमबाट होस्, टिकट काटेर मात्रै यात्रा गर्न म सबैमा अनुरोध गर्न चाहन्छु,’ उनी भन्छन्, ‘टिकट काटेर मात्रै यात्रा गर्नाले चाडपर्वको समयमा हुने दुर्घटनाहरूबाट समेत जोगिन सकिन्छ ।’

    त्यस्तै, नाप तौल विभागकी महानिर्देशक ज्योति जोशीले चाडपर्वको समयमा कति कतै नापजाेख वा ताैलमा समस्या भएको देखेमा तुरुन्त सम्पर्क गर्न आग्रह गरेकी छिन् । उनी भन्छिन्, ‘हामीले अनुगमन लगायतको कार्य पहिलेबाट नै गर्दै आएका छौं । त्यसमा पनि चाडपर्वमा विशेष प्राथमिकताका साथ अनुगमन गरिरहेका हुन्छौं । त्यसैले यदि कसैले उपभोक्ता ठगिने कार्य गरेको थाहा पाउनुभयो भने हामीलाई तत्कालै जानकारी गराइदिनुहुन म आग्रह गर्दछु ।’

    प्रतिकृया दिनुहोस्