काठमाडौं । लक्ष्मी सनराइज बैंकले मुद्दति निक्षेपमा तीन महिनादेखि ब्याजदर स्थिर राखेको छ । बैंकले विभिन्न खातामा भदौ १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको छ । जसमा मुद्दति निक्षेपको ब्याजदर अघिल्लो महिनाको नै कायम राखिएको छ ।
बैंकले भदौमा मुद्दति निक्षेपमा संस्थागततर्फ ५.५० प्रतिशत र व्यक्तिगततर्फ ६.५० प्रतिशत ब्याजदर तोकेको छ । बैंकले रेमिट्यान्स खातामा भने ७.५० प्रतिशत बढी ब्याज दिनेछ । यसअघि असार र साउनमा पनि सोही ब्याजदर तोकिएको थियो । जेठमा भने बैंकले संस्थागततर्फ ६ प्रतिशत र व्यक्तिगततर्फ ७ प्रतिशत ब्याज दिएको थियो ।
बैंकले भदौमा साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि ५ प्रतिशत ब्याजदर तोकेको छ भने रेमिट्यान्स बचतमा ६ प्रतिशत तोकेको छ । यसअघि बैंकले साउनमा साधारण बचतमा ३.०५ प्रतिशतदेखि ५.०५ प्रतिशत र रेमिट्यान्स खातामा ६.०५ प्रतिशत ब्याजदर तोकेको थियो ।
बैंकको आधार ८.७० प्रतिशत छ भने स्प्रेडदर ४ प्रतिशत छ । यसअघि साउनमा ८.९० प्रतिशत आधारदर थियो । बैंकको आधारदर घटेसँगै कर्जाको ब्याजदर पनि स्वतः घट्नेछ ।