News Portal

  • साउनमा ब्याज घट्ने, पैसा राष्ट्र बैंकमा थुपार्नुपर्ने बाध्यता

    आर्थीकसंसार संवाददाता३० असार, २०८१
    १०६ पटक
    ३० असार, २०८१

    काठमाडौं । साउनमा पनि बैंककाे ब्याज घट्ने भएकाे छ । बैंकले ब्याजदर निर्धारणमा गरिरहेको भद्र सहमति खारेज भएसँगै साउनमा पनि आफू अनुकुल ब्याजदर घटाउने भएका हुन् । विगतमा जस्तो साउनमा बैंकहरूले ब्याजदर धेरै नघटाएर सामान्य अंकमा घटाउने तयारी गरेका हुन् ।

    वाणिज्य बैंकहरूबीच ब्याजदरमा हुँदै आएको भद्र सहमति गत वर्षको साउनमा खारेज भएको थियो । गत वर्षको साउनदेखि बैंकले तरलताको स्थिति हेरेर नेपाल राष्ट्र बैंकको प्रावधानभित्र रहेर आफैं ब्याजदर निर्धारण गर्दै आएका छन् ।

    बैंकहरूले आफैं ब्याजदर निर्धारण गर्ने सुविधालाई नेपाल बैंकर्स संघले पनि निरन्तरता दिने भएको हो । जसले गर्दा आगामी दिनमा पनि ब्याजदर नबढ्ने अधिकांशको बुझाइ छ । नयाँ आर्थिक वर्ष सुरु हुन दुई दिन बाँकी छ ।

    विगत एक वर्षदेखि निरन्तर ब्याजदर घटाउँदै आएका बैंकहरूले आगामी आर्थिक वर्ष २०८१/८२ मा पनि कायम राख्ने देखिएका छन् । पछिल्लो समय निक्षेप थुप्रिएपछि बैंकहरू ब्याजदर घटाउन बाध्य छन् ।

    ग्लोबल आइएमई बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी साउनमा बैंकहरूको ब्याजदर सामान्य घट्न सक्ने बताउँछन् । बैंकहरूको ब्याजदर धेरै घटिसकेकाले आगामी दिनमा न्यून बिन्दुमा घट्ने उनको भनाइ छ ।

    ‘ब्याजदर जति घट्नु पर्ने हो घटिसकेको छ, बैंकहरूले अनुकुल हेरेर साउनमा घटाउन सक्छन् । तर, ब्याजदर करिडोरका हिसाबमा बचततर्फको ब्याजदर ३ प्रतिशतभन्दा तल जान सक्दैन,’ उनले भने, ‘बैंकहरूमा प्रयाप्त तरलता छ, मुद्दती निक्षेपमा संस्थागततर्फको न्यून बिन्दुमा घट्न सक्छ, त्यो पनि धेरै घटाउने ठाउँ छैन ।’

    पछिल्लो एक वर्षको अवधिमा बैंकहरूको मुद्दती निक्षेपतर्फको औसत ब्याजदर ६ प्रतिशतदेखि ७ प्रतिशतको हाराहारीमा छ । कर्जा निक्षेप अनुपात (सीडी रेसियो) र क्यापिटलको दबाब भएका बैंकले सामान्य बढाउन सक्ने पनि उनले बताए ।

    माछापुच्छ्रे बैंकका नायब महाप्रबन्धक (डीजीएम) सुभाष जमरकटेल अहिले सहज परिस्थिति रहेकाले साउनमा बैंकहरूले ब्याजदर घटाउन सक्ने बताउँछन् ।

    नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार बैंक तथा वित्तीय ६४ खर्ब ५७ अर्ब रुपैयाँ निक्षेप छ संकलन गरेका छन् भने ५१ खर्ब ५० अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । जसमध्ये वाणिज्य बैंकमा ५७ खर्ब २९ अर्ब रुपैयाँ निक्षेप छ भने ४५ खर्ब ५५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । अन्य बैंक तथा वित्तीय संस्थामा ७ खर्ब २८ अर्ब रुपैयाँ निक्षेप छ भने ५ खर्ब ९५ अर्ब रुपैयाँ लगानी गरेका छन् ।

    साथै बैंकहरूको औसत सीडी रेसियो ७७.५४ प्रतिशत रहेको छ । राष्ट्र बैंकको यस तथ्याङ्कले पनि बैंकहरू सहज स्थितिमा छन् । तर, निक्षेप मात्रै थुप्रिने र कर्जा प्रवाह शून्य भएकाले आगामी दिनमा पनि बैंकहरूले निक्षेपतर्फको ब्याजदर लागत घटाउँदै कर्जाको ब्याजदर घटाउनु पर्ने देखिन्छ ।

    नबिल बैंकका उपमहाप्रबन्धक आदर्श बजगाईं पनि साउनमा बैंकहरूले सामान्य अंकमा ब्याजदर घटाउन सक्ने बताउँछन् । बैंकहरूसँग प्रयाप्त निक्षेप रहेको र उक्त रकम राष्ट्र बैंकमा राख्नु परेको उनकाे भनाइ छ ।

    ‘बैंकहरूको ब्याजदर निकै तल झरिसकेको छ, अब घटेपनि ०.२५ प्रतिशतसम्मले घट्न सक्छ । यो भन्दा बढी घटाउँदैनन्,’ उनले भने, ‘बजारमा ४ सय अर्ब रुपैयाँ बैंकहरूसँग सर्पलस छ, त्यो रकम राष्ट्र बैंकको स्ट्याण्डर्ड डिपोजिट फेसिलेटिजमा ३ प्रतिशतमा राखिएको छ, अर्काे एक वर्ष कर्जा पनि बढ्ने देखिँदैन भने ब्याजदर पनि बढ्ने देखिँदैन ।’

    प्रतिकृया दिनुहोस्