News Portal

  • एफएनसीसीआईका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुले लिए सपथ ग्रहण

    आर्थीकसंसार संवाददाता१४ मंसिर, २०७७
    १४५६ पटक
    १४ मंसिर, २०७७

    काठमाडौं । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का ५४औं अधिवेशन तथा निर्वाचनबाट नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले आज सपथ ग्रहण लिएका छन् । महासंघको नयाँ कार्यसमितिमा निर्वाचित भएका पदाधिकारी तथा सदस्यहरुले महासंघकी निवर्तमान अध्यक्ष भवानी राणाले शपथ ग्रहण गराएकी छन् ।
    नेपालका उद्यमी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्षको रुपमा शेखर गोल्छाले आजबाट कार्यभार सम्हालेका छन् ।
    निवर्तमान वरिष्ठ उपाध्यक्ष गोल्छा महासंघको विधानअनुसार आज (निर्वाचन मत परिणाम घोषणा भएको मिति)देखि स्वतः अध्यक्ष निर्वाचित हुने व्यवस्थाअनुरुप महासंघको ५४औं साधारणसभाबाट अध्यक्षमा निर्वाचित भएका हुन् । नवनियुक्त अध्यक्ष गोल्छाले आजै पद तथा गोपनियताको शपथग्रहण गरी पदभारसमेत सम्हालेका छन् ।
    निवर्तमान अध्यक्ष भवानी राणाले वरिष्ठ उपाध्यक्ष एवम् अहिलेको कार्यकालका अध्यक्ष शेखर गोल्छालाई सर्वप्रथम सपथ ग्रहण गराइन् । त्यसपछि अध्यक्ष गोल्छाले वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालसहित अन्य पदाधिकारी एवम् सदस्यहरुलाई सपथ गराएका थिए । आइतवार (आज) बिहान सम्पन्न मतगणनामा ढकालले आफ्ना प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गरेका हुन । महासंघको नयाँ नेतृत्वका लागि शनिवार निर्वाचन भएको थियो ।
    महासंघको निर्वाचन समितिका अनुसार विजयी भएका ढकालले ३० प्रतिशत मत भार रहेको एशोसिएटमा ५ सय २२ मत प्राप्त गर्दा प्रधानले ३ सय ७५ मत पाएका थिए । यस्तै २० प्रतिशत मत भार रहेको वस्तुगतमा ढकालले ५९ मत र प्रधानले ३९ मत प्राप्त गरे । त्यसैगरी ५० प्रतिशत मतभार रहेको जिल्ला तथा नगरतर्फ ढकालले ५२ मत तथा प्रधानले ५३ मत प्राप्त गरे । वरिष्ठ उपाध्यक्षमा विजयी ढकालले समग्रमा ५४.२६ प्रतिशत मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी प्रधानले ४५.७४ प्रतिशत मत प्राप्त गरेका थिए । यो विजयसँगै ढकाल निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको २०औं अध्यक्ष बन्न सफल भएको छ । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालको अध्यक्ष बन्ने व्यवस्था छ । सोही विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अध्यक्षको जिम्मेवारी सम्हालेका छन् ।
    यस्तै एसोसिएट्सतर्फ ढकाल समूहका रामचन्द्र संघाई विजयी भएका छन् । संघाईले ४ सय ५५ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी सौरभ ज्योतीले ४ सय ३४ मत प्राप्त गरे ।
    वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ विजयी भएका थिए । उनका प्रतिद्वन्दी उमेशलाल श्रेष्ठलाई पराजित गर्दै यनी विजयी भएका थिए । यस्तै जिल्ला नगरतर्फ गुणनिधि तिवारीलाई पराजित गदै दिनेश श्रेष्ठ विजयी भएका थिए । महासंघको प्रमुख निर्वाचन अधिकृत उपेन्द्र केशरी न्यौपानेले सबै निर्वाचित भएका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र वितरण गरेका हुन् ।

    प्रतिकृया दिनुहोस्