News Portal

  • मेगा बैंकद्वारा आफ्ना ग्राहकहरुलाई डिजिटल भुक्तानीका लागि ‘कर्पोरेट–पे’ सेवा

    आर्थिकसंसार संवाददाता१४ मंसिर, २०७७
    १४१३ पटक
    १४ मंसिर, २०७७

    काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना संस्थागत ग्राहकहरुका लागि बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पाेरेट–पे’ प्रणालीको सुरुवात गर्ने भएको छ । उक्त सम्झौतापत्रमा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र क्लियरिङ्ग हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।
    मेगा बैंकले आफ्ना व्यवसायिक ग्राहकहरुलाई प्रदान गर्ने उक्त डिजिटल माध्यममार्फत ग्राहकहरुले बैंकमा नगईकनै रकम स्थानान्तरण, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानीलगायतका अन्य विभिन्न व्यवसायिक भुक्तानीहरु आफ्नो खाताबाटै सजिलै गर्न सक्नेछन् । सो प्रणालीमार्फत कनेक्ट आइपीएस अथवा एनीएचएल आइपीएसमा रियल–टाइम वा नन–रियलटाइममा समेत भुक्तानीसम्बन्धी कारोबारहरु गर्न सकिने मेगा बैंकले जनाएको छ ।
    ‘कर्पोरेट–पे’मा आबद्व हुनका लागि ग्राहकले मेगा बैंकमा सम्पर्क गरि ‘कर्पाेरेट–पे’ प्रणालीको सुरुवातको लागि स्वीकृतिलगायतका आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ । त्यसपश्चात ग्राहकहरुले तोकिएको सीमाभित्र रही कुनै पनि भुक्तानीहरु बैंकको प्रत्यक्ष संलग्नताबिना गर्न सक्नेछन् भने तोकिएको सीमाभन्दा बढी रकमको कारोबार गर्नको लागि बैंकले नियमानुसार थप प्रक्रिया पूरा गरेपश्चात गर्न मिल्ने व्यवस्था रहेको छ ।
    यस प्रणालीमा पहुँच पाउन ‘मल्टि–लेयर एथेन्टिकेशनको सुरक्षित व्यवस्था गरिएको छ भने कुनै पनि कारोबार प्रविष्ट तथा स्वीकृत ग्राहक आफैंले निर्धारण गरेको आधिकारिक प्रयोगकर्ताहरुले मात्र गर्न पाउने गरी यस प्रणालीमा सुरक्षाको व्यवस्था मिलाइएको छ । साथै, ग्राहकले आवश्यकताअनुसार यस प्रणालीमा एकभन्दा बढी बैंक खाताहरु पनि लिङ्क गरी कारोबार गर्न सकिने प्रावधान रहेको पनि उल्लेख छ ।
    आफ्ना ग्राहकहरुका लागि विभिन्न डिजिटल भुक्तानी माध्यमहरु प्रदान गर्दै आएको मेगा बैंकले यस ‘कर्पाेरेट–पे’ प्रणालीको सुरुवातबाट बैंकका व्यवसायिक ग्राहकहरुलाई डिजिटल भुक्तानीको सेवा प्रदान गर्न थप टेवा पुग्ने विश्वास लिएको छ । यस प्रणालीको प्रयोग र विस्तारपश्चात बैंकको शाखा कार्यालयमा उपस्थित नभई विभिन्न भुक्तानीको कारोबारहरु अनलाईनमार्फत नै गर्न सकिने हुँदा व्यवसायिक ग्राहकहरुलाई अझ बढी सहज हुने बैंकले जनाएको छ । ‘कर्पोरेट–पे’ प्रणालीको सम्बन्धमा थप जानकारीको लागि बैंकका शाखा कार्यालयहरुमा सम्पर्क गर्न मेगा बैंकले अनुरोधसमेत गरेको छ ।

    प्रतिकृया दिनुहोस्