News Portal

  • एफएनसीसीआईको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

    आर्थीकसंसार संवाददाता१४ मंसिर, २०७७
    १८६३ पटक
    १४ मंसिर, २०७७

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् । ढकालले एशोसिएट र वस्तुगत दुवै समूहबाट ठूलो मत प्राप्त गरी प्रतिस्पर्धी वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानलाई पराजित गरेका छन् । महासंघको शनिबार भएको ५४औं वार्षिक साधारणसभाबाट ढकाल निर्वाचित भएका हुन् । ढकालका प्रतिस्पर्धी किशोरकुमार प्रधान थिए ।
    वरिष्ठ उपाध्यक्षमा ढकालले कुल ६ सय ३० मत पाएका छन् भने प्रधानले ४ सय ६६ पाएका छन् । जिल्ला नगरतर्फ ढकालले भन्दा प्रधानले १ मत बढी पाएका छन् । ढकालले एशोसिएटमा सदर मत ८ सय ९७ मध्ये ५ सय २२ मत पाएका छन् । ढकालका प्रतिस्पर्धी प्रधानले ३ सय ७४ मत पाए । महासंघको विधानअनुसार कुल मतमा एशोसिएटको मतभार ३० प्रतिशत भएको मानिन्छ ।
    वस्तुगतमा ढकालले ५६ मत पाएका थिए भने प्रधानले ३९ मत पाए । कुल मतमा वस्तुगत समूहको मतभार २० प्रतिशत भएको मानिन्छ ।
    जिल्ला–नगरतर्फ खसेको कुल १०५ भोटमा ढकालले ५२ र प्रधानले ५३ मत पाए । कुल मतमा जिल्ला समूहको मतभार ५० प्रतिशत मानिन्छ ।
    चन्द्र ढकाल देशकै पहिलो रेमिटेन्स कम्पनी आइएमईमार्फत व्यवसायिक साम्राज्य तयार पार्दै आएका छन् । आइएमई ग्रुपका अध्यक्ष रहेका ढकालले ग्लोबल आइएमई बैंक, आइएमई जनरल इन्स्योरेन्स, आइएमई लाइफ हाथवे इन्भेस्टमेन्ट, आइएमई को–अपरेटिभ, चन्द्रागिरी हिल्स, आइएमई अटोमोटिभ्स, हिमालय पावर पार्टनर्स, माउन्टेन इनर्जी, शंकर अक्सिजनलगायतका डेढ दर्जनभन्दा बढी व्यवसायिक संस्थाको नेतृत्व गरिरहेका छन् । सरकारले दिने महत्वपूर्ण व्यवसायिक व्यक्ति (सीआइपी)समेत उनले पाएका छन् ।
    शनिबार सम्पन्न निर्वाचनसँगै महासंघको अध्यक्ष शेखर गोल्छा भएका छन् । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष निर्वाचित भएको व्यक्ति नै अर्काे कार्यकालमा स्वतः अध्यक्ष हुन्छ ।
    वरिष्ठ उपाध्यक्षमा ढकाल निर्वाचित भएपछि अध्यक्ष बनेका शेखर गोल्छाले बधाई दिएका छन् । निर्वाचतमा गोल्छाले प्रधानलाई सहयोग र समर्थन गरेका थिए ।
    नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निर्वाचनपछि पक्षविपक्ष सकिएको बताएका छन् । ‘मैले पहिला पनि भनेको थिएँ, १३ गतेपछि पक्षविपक्ष हुँदैन । हामी सबै एकै ठाउँ हुन्छौं,’ निर्वाचित भएपछि ढकालले भने, ‘मेरो अध्यक्ष शेखर गोल्छा नै हो । हामी एक ठाउँमा बसेर निजी क्षेत्रको आवाज उठाउनेछौं ।’
    ढकालले व्यवसायिक गतिविधि बढाएर मुलुकको आर्थिक समृद्धितर्फ लाग्ने धारणा समेत राखे । उनले आफूले उठाएको २५ बुँदे कार्यक्रमलाई समेत अगाडि बढाउँदै ती मुद्दा समाधानका लागि सरकारका निकायसँग एडभोकेसी गर्ने पनि बताए ।
    महासंघको ५४औं वार्षिक साधारणसभामा ढकाल र प्रधान समूह दुई प्यानल बनाएर निर्वाचनमा होमिएका थिए । वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छाले प्रधान समूहलाई समर्थन गरेका थिए । गोल्छा आइतबारदेखि स्वतः अध्यक्ष भइसकेका छन् ।
    एशोसिएटतर्फ उपाध्यक्षमा ढकाल प्यानलका रामचन्द्र संघाइ निर्वाचित भएका छन् । संघाईले ४ सय ५५ मत पाएका छन् । संघाईको प्रतिस्पर्धीमा सौरभ ज्योतिले ४ सय ३४ मत पाएका छन् । संघईले ४ सय ५५ मत पाए । उनको प्रतिस्पर्धीमा सौरभ ज्योतिले ४ सय ३४ मत पाए । संघईले महासंघमा चार कार्यकाल बिताइसकेका छन् । रविभक्त श्रेष्ठ अध्यक्ष हुँदा कार्यसमिति सदस्यमा निर्वाचित भएका थिए । त्यसयता उनले चार जना अध्यक्षको नेतृत्वमा कार्यसमिति सदस्य भएर जिम्मेवारी बहन गरिसकेका छन् । महासंघको रोजगारदाता परिषदमा संघईले उपसभापतिको जिम्मेवारीसमेत निभाइसकेका छन् । संघई नेपालको उत्पादनमूलक र व्यापारमा अग्रणी त्रिवेणी समूहका निर्देशक हुन् । ८० वर्ष अघि स्थापित यो समूहले नेपालमा पहिलो सिमेन्ट उद्योग विश्वकर्मा पनि स्थापना गरेको थियो भने क्लिंकरमा आधारित स्वदेशी लगानीको सबैभन्दा ठूलो घोराही सिमेन्ट पनि यही समूहले स्थापना गरेको थियो । समूहले नेपालकै सबैभन्दा बढी बिक्री हुने टोकला चिया, अमृत तेल, त्रिवेणी धागो, सिद्धार्थ ग्यास, बिग मुभिजलगायतका दर्जनभन्दा बढी उद्योगमा लगानी गरेको छ । यो समूहको एनआइसी एशिया, प्रुडेन्सियल इन्स्योरेन्स, नेपाल लाइफ इन्सुरेन्स, सिटी सेन्टर, बिगमार्टलगायतका दर्जनौं कम्पनीमा लगानी छ । संघाई अहिले एनआईसी एशिया बैंकका सञ्चालक समिति सदस्यसमेत छन् । त्रिवेणी समूहले होमग्रोन ब्राण्ड यसुदादेखि दर्जन बहुराष्ट्रिय इलेक्ट्रोनिक्स ब्राण्डको डिलरसीपसमेत लिएको छ । यो समूहअन्तर्गत करिब १६ हजार कर्मचारी कार्यरत छन् ।


    त्यसैगरी महासंघको जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ विजयी भएका छन् । उनले आफ्ना प्रतिद्वन्दी गुणनिधि तिवारीलाई पराजित गर्दै विजयी भएका हुन् । उनले ५८ र तिवारीले ४७ मत ल्याएका छन् । उनी प्रधान प्यानलबाट उम्मेदवार बनेका हुन् । श्रेष्ठ यसअघि काठमाडौं उद्योग वाणिज्य संघको अध्यक्ष र महासंघको वस्तुगत तर्फको उपाध्यक्ष भइसकेका छन् । उनको कपि तथा स्टेसनरी उद्योग, नेपालगञ्ज मेडिकल कलेज, होटल, ट्रेडिङ, प्रिन्टिङ मेसिनरी सप्लाईलगायतमा लगानी रहेको छ ।


    त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत समूहको उपाध्यक्षमा अञ्जन श्रेष्ठ विजयी भएका छन् । उनले प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठलाई फराकिलो मतले पराजित गरेका छन् । अञ्जन श्रेष्ठले ६२ मत पाएका छन् भने उमेशलाल श्रेष्ठले ३७ मत पाएका छन् । अञ्जन वरिष्ठ उपाध्यक्ष किशोर प्रधान समूहबाट चुनावी प्रतिस्पर्धामा थिए भने उमेशलाल चन्द्रप्रसाद ढकालको समूहबाट चुनावमा भाग लिएका थिए ।


    अञ्जन करिब डेढ दशकदेखि महासंघमा सक्रिय रहेका छन् । उनले १६ वर्ष महासंघको कार्यसमितिदेखि विभिन्न समितिमा रहेर काम गरिसकेका छन् । उद्योग समितिको सभापति, दुई कार्यकाल राजस्व समितिको सहसभापति भएर र करिब नौ वर्ष रोजगारदाता परिषद्को सदस्य भएर श्रेष्ठले काम गरेका छन् । उनी लक्ष्मी समूहका कार्यकारी निर्देशक हुन् । उनले पोखरामा लक्ष्मी मिठाई पसलबाट व्यवसायिक यात्रा सुरु गरेका हुन् । २०३० सालमा सुरु भएको मिठाई पसलसँगै अञ्जनले पोलिथिन उद्योगमा लगानी गरे । अञ्जनले २०६० सालमा सुजल डेरीमार्फत औद्योगिक क्षेत्रमा हात हाले । दुग्ध विकास संस्थान (डीडीसी)को पोखरा शाखा किनेर डेरी उद्योगमा हात हालेर पाउडर मिल्कदेखि कन्फेक्सनरी उत्पादन थाल्यो । २०६६ सालमा हुन्डाई मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता बनेर यो समूहको व्यवसायिक विस्तार फराकिलो बन्यो । पछिल्लो समयमा अञ्जन समृद्धि स्टील स्थापना गरी हस्पिटालिटी र खाद्यान्नलगायतका उद्योगमा समेत हात हालेको छ ।
    त्यस्तै, वस्तुगत समूहबाट हुने १४ सदस्यीय कार्यसमितिमा दुबै प्यानलबाट ७७ जना निर्वाचित भएका छन् ।
    यस समूहबाट १९ जना कार्यकारिणी सदस्य निर्वाचित हुने व्यवस्था छ । त्यसमा प्रधान समूहबाट १० जना र ढकाल समूहबाट ८ जना निर्वाचित भएका छन् । मंगेशलाल श्रेष्ठ र बिराट थापा बराबर आएको छ ।
    एशोसियट तर्फको कार्यकारिणी सदस्यमा अम्बिकाप्रसाद पौडेल सबैभन्दा बढी मत ल्याएर विजयी भएका छन् । पौडेलले ८०२ मत ल्याएर विजयी भएका छन् ।
    महासंघको एशोसियट तर्फ अबिनास बोहरा ४७६, आनन्द बगरिया ४९९ र कृष्णलाल महर्जन ४६२ मत ल्याएर विजयी भए ।
    यस्तै गोपाल खनाल ७५१, ज्योत्स्ना श्रेष्ठ ७६७, देशबन्धु बस्नेत ४८३, प्रवलजंग पाण्डे ७४३, भरतराज आचार्य ७४६ मत ल्याएर विजयी भए ।
    रन्जित आचार्य ४५९, राजेशकुमार अग्रवाल ५३०, विजयसिंह वैद्य ५४७, शक्तिकुमार बेगानी ५३०, साहिल अग्रवाल ७३०, सैलेन्द्र गुरागाई ६३०, शुसील थापा ४३०, हेमन्त गोल्छा ५०९ मत ल्याएर विजयी भए ।

    प्रतिकृया दिनुहोस्