News Portal

  • मेसिनबाटै यसरी गर्न सकिन्छ सिटिजन्स बैंकमा चेक डिपोजिट

    आर्थीकसंसार संवाददाता७ असार, २०८१
    २१ पटक
    ७ असार, २०८१

    काठमाडौं । तपाई सिटिजन्स बैंकको ग्राहक हुनुहुन्छ ? यदि हुनुहुन्छ भने चेक जम्मा गर्न काउन्टरमै पुगेर लाइन लाग्नुपर्ने झन्झटलाई बैंकले अन्त्य गरेको छ । अब एक÷डेढ मिनेटमै चेक आफ्नो खातामा जम्मा गर्न सक्ने सुविधा बैंकले गरेको छ । एटीएम मेसिनमार्फत् ग्राहकहरूले चेकमा भएको रकम बैंक खातामा जम्मा गर्न सकिने बैंकले जनाएको छ ।

    बैंकका ट्रान्जिक्सनल बैंकिङ हेड सुयेश कुमार पौडेलका अनुसार बुटवल, वीरगञ्ज, विराटनगर, कलङ्की, दरबारमार्ग, नयाँ बजारमा चेक डिपोजिट मेसिन सञ्चालनमा छन् । जुन शाखामा चेकको कारोबार बढी हुन्छ सो शाखामा चेक डिपोजिट मेसिन सञ्चालनमा छन् ।

    ग्राहकलाई छिटो सेवा दिने उद्देश्यले चेक आफ्नो खातामा जम्मा गर्न सक्ने मेसिन सञ्चालनमा ल्याएको उनले बताए । ग्राहकलाई तत्काल सेवा दिने र बैंकमा हुने लाइन कम गर्न चेक डिपोजिट मेसिनले सहयोग पुर्याउने उनको भनाइ छ ।

    अब बैंकको शाखा कार्यालयको काउन्टर बन्द भएको समयमा पनि चौविसै घण्टा चेक डिपोजिट गर्न सकिने बैंकले जनाएको छ । यो प्रविधि चेक डिपोजिट मात्रै नभएर सुरक्षाका हिसाबले पनि अत्यन्तै मजबुत रहेको बैंकको भनाइ छ । बैंकका अनुसार यसमा चेक जम्मा गर्न आउने मान्छेको विवरण अनलाइनबाट डिजिटल भेरिफाइ हुन्छ ।

    चेक डिपोजिट गर्दा सबै गतिविधि डिजिटल रेकर्ड हुने भएकाले आगामी दिनमा तथ्याङ्क खोज्न वा रेकर्ड निकाल्न गाह्रो नहुने बैंकको दाबी छ । चेक डिपोजिट मेसिन पूर्णरुपमा पेपरलेस भएकाले वातावरणमैत्री रहेको बैंकले बताएको छ ।

    कसरी डिपोजिट गर्ने ?

    बैंकका अनुसार एउटा चेक जम्मा गर्न एकदेखि डेढ मिनेट लाग्छ । पहिला काउन्टरमा जम्मा गर्दा चेकमा हस्ताक्षर गरिन्थ्यो भने अब हस्ताक्षर गर्नुपर्दैन । तर, त्यसको सट्टा मोबाइल नम्बर आवश्यक पर्छ ।

    सुरुमा चेक डिपोजिट मेसिनमा दुईवटा भाषा देखिन्छ । दुइटा भाषामध्ये आफूलाई कुन भाषा अनुकुल हुन्छ सोमा छनोट गर्नुपर्ने हुन्छ । त्यसपछि जसको खातामा चेक जम्मा गर्नुपर्ने हो सो व्यक्तिको खाता नम्बर उल्लेख गर्नुपर्ने हुन्छ । त्यसपछि नाम र आफ्नो मोबाइल नम्बर लेख्नुपर्छ ।

    त्यसपछि अमाउन्ट (रकम) लेखेको ठाउँमा चेकमा उल्लेखित रकम भर्नुपर्ने हुन्छ । त्यसपछि बैंक खाता नम्बर राख्नुपर्ने हुन्छ । मिति लेखिएको ठाउँमा चेकमा उल्लेख गरिएको मिति लेख्नुपर्ने हुन्छ । हालसम्मका विवरण सही छन् भने नेक्स्ट (अर्काे) मा क्लिक गर्नुपर्ने हुन्छ ।

    त्यसपछि इन्टर्न योर चेक लेखिएको ठाउँमा चेकको पाना छिराउनुपर्ने हुन्छ । त्यसपछि चेक जम्मा भएको रिसिप्ट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्