News Portal

  • नेपाल उद्योग वाणिज्य महासंघको मतदान सुरु

    आर्थीकसंसार संवाददाता१३ मंसिर, २०७७
    १४८२ पटक
    १३ मंसिर, २०७७

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ५४औं वार्षिक साधारणसभा तथा निर्वाचनमा मतदान सुरु भएको छ । मतदान बिहान ९ बजेर १५ मिनेटमा कार्की बैंक्वीटमा सुरु भएको हो । बिहानको साढे ८ बजे सुरु हुने भनिए पनि ९ः१५ बजे मात्रै मतदान सुरु भएको हो । मतदाताहरू ढिला उपस्थित भएकाले मतदान ढिला सुरू भएको हो ।


    यो साधारणसभाले महासंघको आगामी नेतृत्व पनि चयन गर्दैछ । विधानअनुसार वरिष्ठ उपाध्यक्ष अर्काे कार्यकालको लागि स्वतः अध्यक्ष हुने भएकाले शेखर गोल्छा स्वतः अध्यक्ष बनिसकेका छन् । वरिष्ठ उपाध्यक्ष पदमा भने किशोर प्रधान र चन्द्र ढकाल प्यानलसहित चुनावी प्रतिस्पर्धामा छन् । वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी ढकाललाई पूर्व अध्यक्ष चण्डीराज ढकालको समर्थन छ । ढकालको प्यानलबाट वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्ला÷नगर उपाध्यक्षमा गुणनिधी तिवारी र एसोसिएट उपाध्यक्षमा रामचन्द्र संघाई छन् ।
    प्रधानलाई आगामी कार्यकालको लागि अध्यक्ष बनिसकेका शेखर गोल्छाले पनि समर्थन गरेका छन् । प्रधानको प्यानलबाट वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ, जिल्ला÷नगर उपाध्यमा दिनेश श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा सौरभ ज्योति छन् । यो निर्वाचनले एक बरिष्ठ उपाध्यक्षसहित ४ उपाध्यक्ष र ६० कार्यकारिणी सदस्य निर्वाचित गर्नेछ । निर्वाचनमा १ सय २७ जना उद्योगी व्यवसायी प्रतिस्पर्धा गरिहेका छन् । कार्यकारिणी सदस्यमा प्रदेश १ बाट राजेन्द्र राउत र द्विराष्ट्रियबाट सन्दीप अग्रवाल निविरोध निर्वाचित भइसकेका छन् ।
    निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न दुवै पक्षले रातभर प्रयास र मेहेनत जारी राखेका छन् । व्यवसायीका अनुसार शुक्रबार दिउँसोदेखि नै यो जिल्लाले यसलाई सहयोग गर्ने भयो, यो पक्ष यता लाग्यो भन्ने जस्ता हल्ला फैलिएका थिए । शुक्रबार रातभर यस्तो हल्ला अझ व्यापक बनेको व्यवसायीहरु बताउँछन् ।
    यससँगै मतगणना साँझ साढे ६ बजेदेखि सुरू हुने निर्वाचन अधिकृत लिलामणी पौडेलले बताएका छन् । उनका अनुसार मतगणना कमलादीको प्रज्ञा प्रतिष्ठान भवनमा हुने छ ।

     

    प्रतिकृया दिनुहोस्