News Portal

  • पाटाको अन्तर्राष्ट्रिय उपाध्यक्ष पदमा सुमन पाण्डे निर्वाचित

    आर्थीकसंसार संवाददाता२६ जेठ, २०८१
    ६० पटक
    २६ जेठ, २०८१

    काठमाडौं । वरिष्ठ पर्यटन व्यवसायी सुमन विक्रम पाण्डे प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) अन्तर्राष्ट्रिय मुख्यालयको उपाध्यक्ष पदमा निर्वाचित भएका छन् ।

    एक्सप्लोर हिमालय ट्राभल एण्ड एडभेन्चरका अध्यक्ष पाण्डे गत मार्चमा सम्पन्न निर्वाचन प्रक्रियामा प्रतिस्पर्धी अमेरिकन गुवामका जेराल्ड पेरेजÞले आफ्नो मनोनयन फिर्ता लिएपछि उपाध्यक्षमा पाण्डे निर्विरोध भएका हुन् ।

    पूर्ण कार्यसमितिको नतिजा अनुगमन समितिबाट पेस भएपश्चात आज जुन ७ मा भएको पाटाको साधारणसभाबाट अनुमोदन भएको हो ।

    सन् २०२६ सम्म कार्यकाल रहने नौ सदस्यीय कार्यसमितिमा पाटाको अध्यक्षमा इण्डोनेशियाका पिटर सिमोन, उपाध्यक्ष नेपालका सुमन पाण्डे, सचिव तथा कोषाध्यक्षमा थाइल्यान्डका एसियन ट्रैलस निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरूमा थाइल्यान्ड बेन मोनटगोमरी, भारतका सञ्जित जैन र सिङ्गापुरका मयूर पटेल निर्वाचित भएका छन् ।

    सन् १९७५ देखि सदस्य रहँदै आएको नेपालको पाटामा यो तहको जिम्मेवारीमा पहिलोपटक प्रतिनिधित्व भएको जनाइएको छ । पाण्डे यसअघि २०२० देखि २०२४ सम्म दुई कार्यकाल सचिव तथा कोषाध्यक्षको भूमिकामा रहेका छन् ।

    सन् १९५१ मा अमेरिकाको क्यालिफोर्नियामा स्थापित भइ १९९८ देखि बैंककमा मुख्यालय रहेको पाटाले एसिया तथा प्रशान्त क्षेत्रका लागि आपसी पर्यटकीय आदानप्रदान वा व्यापार विस्तारको क्षेत्रमा आफ्ना सदस्य राष्ट्रहरूका साथ सहयोग तथा सहकार्यमा संलग्न रही आएको छ ।

    सन् १९७५ देखि सदस्य रही आएको नेपालको पर्यटकीय सम्भावनालाई अन्तर्राष्ट्रिय बजारीकरण तथा स्तरवृद्धिमा पाटाले सक्रिय सहयोग गर्दै आएको छ । साथै सन् १९७६ मा पोखराको पर्यटकीय गुरुयोजना, २०१५ को महाभूकम्पपछिको संकट निवारण तथा पर्यटन पुनरुत्थान कार्यक्रम तथा विभिन्न समयमा साहसिक पर्यटन मेला, हिमालयन ट्राभल मार्टको आयोजनामा सक्रिय सहयोग गर्दै आएको छ ।

    पर्यटन क्षेत्रमा ३५ वर्षभन्दा बढी समयदेखि सक्रिय पाण्डे पदयात्रा, ट्राभल, एयरलाइन्स, होटललगायत विभिन्न व्यवसायमा संलग्न छन् । उनी ट्रेकिङ एजेन्ट्स एशोसिएसन अफ नेपाल (टान) को पूर्वअध्यक्ष, नेपाल पर्यटन बोर्डको पूर्वसञ्चालक समिति सदस्य, वायुसेवा सञ्चालक संघको पूर्वमहासचिव, नेपाल पर्यटन वर्ष २०११ का कार्यकारी सदस्य साथै पाटा नेपाल च्याप्टरका अध्यक्ष भइसकेका छन् ।

    सन् २००९ डिसेम्बर ४ मा कालापत्थरमा भएको नेपाल सरकार मन्त्रिपरिषद् बैठकको मुख्य संयोजनकर्ता पाण्डेको अगुवाइमा सन् २००८ मा नेपालमा स्काई डाइभिङ र नेपालका उच्च हिमाली क्षेत्रमा हेलिकप्टर उडान तथा रेस्क्यु प्रविधिको सुरुवात पनि भएको थियो । उनकै नेतृत्वमा सन् २०१७ मा अन्तर्राष्ट्रिय पर्यटन मेलाको रूपमा प्रथम हिमालयन ट्राभल मार्टको सुरुवात भएको थियो ।

    प्रतिकृया दिनुहोस्