
काठमाडौं । माछापुच्छ्रे बैंकका सबैभन्दा ठूला सेयरधनी सुरेन्द्र महतोलाई सेयर बिक्री गर्न सकस परेको छ । महतोलाई आफ्नो स्वामित्वको करोडौं कित्ता सेयर बिक्री गर्न सकस परेको हो ।
संस्थापक सेयरधनी महतोले आफ्नो स्वामित्वको १०.९५ प्रतिशत अर्थात् १ करोड १२ लाख ३२ हजार ४९२ कित्ता सेयर बिक्री गरेर बाहिरिन चाहेका छन् । तर, उक्त बिक्री नै हुन नसकेपछि उनलाई उक्त सेयर बिक्रीमा सकस खेप्नु परेको हो ।
महतोले गत असोज २५ गते पहिलोपटक संस्थापक सेयरधनीहरूलाई प्राथमिकतामा राखेर सेयर बिक्रीमा राखेको थियो । तर, ३५ दिनभित्र कुनै पनि संस्थापकले आवेदन नदिएपछि गत मंसिर २९ गते फिट एण्ड प्रर्पर टेस्टको माध्यमबाट आवेदन दिन बैंकले आग्रह गरेको थियो ।
इच्छुक व्यक्ति तथा संस्थालाई १५ दिनको समय दिइएको थियो । सो अवधिमा कसैको आवेदन नपरेपछि पुनः आज पुस २५ गते सूचना प्रकाशन गरी उक्त सेयर बिक्रीमा राखेको हो ।
बैंकले बिक्रीमा राखेको सो सेयरको मूल्य न्यूनतम प्रतिकित्ता ११५ रुपैयाँ तोकिएको छ । सोही मूल्यमा उक्त सेयर बिक्री भएमा महताले १ अर्ब २९ करोड १७ लाख रुपैयाँको सेयर बिक्री वापत संकलन गर्ने छन् ।
खरिद गर्न इच्छुक लगानीकर्ताहरूले न्यूनतम १० लाख कित्ता आवेदन दिनु पर्नेछ । बैंकको सेयर बिक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटलमा बोलपत्र पेश गर्नु पर्नेछ ।