काठमाडौं । ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सुमन पोखरेल नियुक्त भएका छन् ।
आइतबार बसेको बैंकको सञ्चालक समितिको बैठकले उनलाई बैंकको डीसीईओमा नियुक्त गरेको हो । यसअघि उनी आइएमई ग्रुपको बरिष्ठ उपाध्यक्षको भूमिकामा थिए ।
उनले यसअघि आईएमई रेमिटमा प्रमुख कार्यकारी अधिकृत भएर काम गरिसकेका छन् । उनले डिसहोमका प्रबन्ध निर्देशक समेत सम्हालिसकेका छन् । उनी रेमिटर्स एसोशिएसनको पूर्व अध्यक्ष समेत हुन् । उनले यसअघि नेपाल व्यवस्थापक संघको उपाध्यक्ष भएर पनि काम गरिसकेका छन् ।
बिजनेस स्टडिजमा स्नातकोत्तर गरेका उनीसँग बैंकिङ क्षेत्रमा दुई दशक बढी काम गरेको अनुभव छ । उनीसँग एभरेष्ट बैंकमा पनि काम गरेको अनुभव छ । उनीसँग ग्लोबल आइएमई बैंक र नेपाल इन्फ्राष्ट्रक्चर बैंक को सञ्चालक समिति सदस्य भएर बैंकको नेतृत्व गरेको अनुभव पनि छ ।
वित्तीय संस्थाहरुको दीर्घकालिन व्यावसायिक योजना, रणनीति तर्जुमा तथा कार्यान्वयनमा अत्यन्त कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गरी कुशल ब्यवस्थापकको रुपमा उनी परिचित छन् ।
नवनियुक्त नायव प्रमुख कार्यकारी अधिकृत पोखरेलले नेपालको सबैभन्दा ठूलो बैंकमा पून: आवद्ध भई काम गर्ने अवसर प्राप्त गरेकोमा खुसी ब्यक्त गर्दै बैंकलाई थप सबल र सुदृढ बनाउन आफ्नो भूमिका रहने बताए । ‘बैंक ठूलाे छ, अब यसलाई अब्बल बनाउनुपर्छ’ उनले विकासन्युजसँग भने ।
यस बैंकको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य छन् भने बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्र राज रेग्मी रहेका छन् ।
ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५० शाखा, ३६९ एटीएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाख भन्दा बढी ग्राहकहरुमाझ सेवा प्रदान गरिरहेको छ ।