News Portal

  • एनसेलको १८औं वार्षिकोत्सव: सरप्राइज पुरस्कार, अब सीईओसँग ग्राहकको सिधा सम्पर्क

    आर्थीकसंसार संवाददाता३१ भदौ, २०८०
    १८५ पटक
    ३१ भदौ, २०८०

    काठमाडौं। एनसेल आजियाटा लिमिटेडले आइतबार सेवा सञ्चालनको १८औं वार्षिकोत्सव मनाएको छ। सन् २००५ को सेप्टेम्बर १७ बाट एनसेल (पहिले मेरो मोबाइल) ले आफ्नो सेवा संचालनमा ल्याएको थियो।

    ‘१ करोड ६० लाखभन्दा बढी नेपाली र नेपालको अर्थतन्त्रको अभिन्न अंग बन्न पाएकोमा हामी गर्व गर्छौं। एनसेल सधैं नेपाल र नेपालीलाई गुणस्तरीय सेवाले जोड्न प्रतिबद्ध छ र अब हामी देशको दूरसञ्चार आवश्यकता र प्रविधि विकासलाई सम्बोधन गर्न अझै जिम्मेबार बनेका छौं,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एवम् प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, ‘बहुसंख्यक नेपालीहरूका लागि पाउन कठिन हुने सेवा र सुविधाहरुमा सहज पहुँच सुनिश्चित गराउने अब हाम्रो भिजन हुनेछ। एनसेल ‘हामी तपाईंकै लागि’ अर्थात हामी तपाईंकै लागि हौं र अझै धेरै वर्ष निरन्तर यात्राका लागि प्रतिबद्ध छौं।’

    नयाँ यात्राको सुरुवातसँगै एनसेलले आफ्नो ब्रान्डको वाचा ‘आज, भोलि, सधैं सँगै’ अन्तर्गत रहेर ‘हामी तपाईंकै लागि’ थिमको घोषणा गरेको छ। यस थिम अन्तर्गत एनसेलले सामाजिक कार्यहरुलाई अगाडि बढाउन र नेपालमा समुदायस्तरमा सार्थक प्रभाव पार्न श्रृंखलाबद्ध विभिन्न क्रियाकलाप, सहकार्य र कार्यक्रमहरुको घोषणा गरेको छ।

    एनसेलले आफ्नो वार्षिकोत्सव मनाइरहेको बेला, ग्राहकहरुसँग खुसियाली बाँड्नका लागि आकर्षक अफर पनि ल्याएको छ। प्रत्येक ग्राहक विजेता बन्ने यस ‘हरेक दिन सरप्राइज सबैलाई स्योर प्राइज’ अफरमा सबै ग्राहकले २८ दिनसम्म केही न केही सेवा सरप्राइज लोयल्टी गिफ्ट पाउनेछन्।

    यस अफरमा *१७११७# डायल गर्ने ग्राहकहरूले दैनिक, साप्ताहिक र बम्पर उपहारहरू प्राप्त गर्न योग्य बन्ने एनसेलले जनाएको छ। दैनिक उपहारमा ग्राहकले एनसेलका सेवाहरू कुनै पनि शुल्क बिना प्राप्त गर्न सक्छन्। प्रत्येक हप्ता एनसेलका १ हजार ग्राहकले १०० रुपैयाँ ब्यालेन्स पाउनेछन् र अफरको अन्त्यमा सात जना भाग्यशाली ग्राहकले ७ वटा स्कुटर पाउने कम्पनीले जनाएको छ।

    साप्ताहिक र बम्पर उपहारहरू प्राप्त गर्नका लागि ग्राहकहरूले अफर अवधिभर एनसेल सेवाहरू प्रयोग गरेको हुनुपर्ने कम्पनीले जनाएको छ। एनसेलको बारेमा रचनात्मक नारा एप वा वेबसाइटमार्फत पठाउनुपर्ने बताइएको छ।

    आफ्नो व्यवसायिक सामाजिक जिम्मेवारी (सीएसआर) र थिम हामी तपाईं कै लागि अन्तर्गत एनसेलले राष्ट्रिय प्यारालम्पिक समिति नेपालसँग सहकार्यको पनि घोषणा गरेको छ। जसअन्तर्गत कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा नेपालको प्रतिनिधित्व गर्ने प्यारालम्पिक राष्ट्रिय खेलाडीहरूलाई सहयोग गर्ने जनाएको छ।

    यो सहकार्य अन्तर्गत एनसेलले राष्ट्रिय खेलाडीहरुको समग्र तालिम र विकासका लागि उनीहरुलाई आवश्यक पर्ने आहार र पोषण वर्षभरि सुनिश्चित गर्न सहयोग गर्नेछ।

    वार्षिकोत्सवका अवसरमा समुदाय स्तरमा लागु हुने सामाजिक पहल ‘एटिन फर एटिन’ अर्थात १८ का लागि १८ कार्यक्रम सुरु गरेको पनि घोषणा गरेको छ। यसअन्तर्गत एनसेलले ७ वटै प्रदेशका गैरनाफामूलक संस्थाहरूबाट आ–आफ्नो स्थानीय समुदायलाई हित गर्ने कुनै पनि सामुदायिक विकास परियोजनाका लागि आवेदन दिन आह्वान गरेको छ। इच्छुक संस्थाहरुले एनसेलको वेबसाइटमार्फत आवेदन दिन सक्नेछन्।

    निश्चित मापदण्ड र प्रक्रिया पुर्‍याएर छानिने त्यस्ता सीएसआर आयोजनाका लागि कम्पनीले प्रति परियोजना १० लाख रुपैयाँसम्म प्रदान गर्ने जनाएको छ।

    यस्तै, दिगो विकास लक्ष्यहरू हासिल गर्न सरकारलाई सहयोग गर्ने कम्पनीको प्राथमिकता अनुरुप एनसेलले लामो समयदेखि सीएसआरलाई उच्च प्राथमिकतामा राख्दै आएको जनाएको छ। विगत १८ वर्षमा एनसेलले शिक्षा, वातावरण र स्वास्थ्य लगायतका विभिन्न क्षेत्रहरुका सामाजिक परियोजनाहरुमा १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी योगदान गरिसकेको जनाएको छ।

    सबैभन्दा ठूलो करदातामध्ये एक भएको एनसेलले अर्थतन्त्रमा प्रभावकारी योगदान पुर्‍याउँदै आएको बताउँदै आफ्नो स्थापनाकालदेखि आर्थिक वर्ष २०७८/७९ सम्ममा कर र शुल्कहरु बापत २ खर्ब ८३ अर्ब रुपैयाँ भन्दा बढी भुक्तानी गरिसकेको दावी गरेको छ।

    एनसेलले सीईओ जाब्बोरको इन्स्टाग्राम खाता खोलेको छ। सो खातामार्फत सर्वसाधारणले सीईओसँग सिधैं सम्पर्क गर्न सक्ने घोषणा पनि एनसेलले गरेको छ। साथै, एनसेलका सीईओको इमेलमार्फत पनि सीईओसँग कुनै गुनासाहरु भए सिधै राख्न सकिने व्यवस्था गरिएको छ। सीईओसँग ग्राहकको सिधैं पहुँच सुनिश्चित गराउने एनसेल नेपालको सम्भवत पहिलो कर्पोरेट हाउस भएको उल्लेख गरेको छ।

    ‘ग्राहकहरूले मसँग सिधैं सम्पर्क गर्न सक्छन् र यसरी सम्पर्कमा आउने ग्राहकहरुका कुराहरु सम्बोधन भए नभएको हाम्रो सम्बन्धित टोलीले सुनिश्चित गर्छ। यसले ग्राहकको अनुभवलाई अझ सुधार गर्नुको साथै थप विश्वास र पारदर्शिताको संस्कृति निर्माण गर्न योगदान गर्नेछ,’ जाब्बोरले भने।

    प्रतिकृया दिनुहोस्