News Portal

  • मर्जरपछि कुशल व्यवस्थापन गर्दै ग्लोबल आइएमई बैंक, विभिन्न सूचकाङ्कमा उत्कृष्ट

    आर्थीकसंसार संवाददाता३ भदौ, २०८०
    १९५ पटक
    ३ भदौ, २०८०

    काठमाडौं । ग्लोबल आइएमई बैंकले हरेक मर्जरको सरल र सहज व्यवस्थापन गर्दै उत्कृष्ट प्रदर्शन गरिरहेको छ । २१ वटा बैंक तथा वित्तीय संस्था मर्जपछि बनेको यो बैंकले मर्जरलाई सहजरुपमा व्यवस्थापन गर्दै अधिकांश वित्तीय सूचकहरुमा प्रतिस्पर्धी बैंक भन्दा राम्रो नतिजा ल्याएको छ ।

    ग्लोबल आइएमई बैंक कूल पुँजी तथा चुक्ता पुँजीका आधारमा नेपालको सबैभन्दा ठूलो बैंक हो । हाल यस बैंकको कूल पुँजी ५८ अर्ब ६८ करोड रुपैयाँ छ भने यसको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रुपैयाँ रहेको छ ।

    निक्षेपतर्फ पनि यो बैंक सबैभन्दा अगाडि छ । नेपाल राष्ट्र बैंकका अनुसार गत जेठ मसान्तसम्ममा यस बैंकले ४ खर्ब २८ अर्ब रुपैयाँ निक्षेप परिचालन गरेको छ । कर्जा परिचालनको हिसाबले पनि ग्लोबल आईएमई बैंक सबैभन्दा अगाडि रहेको छ । गत जेठ मसान्तसम्ममा बैंकले ३ खर्ब ७३ अर्ब रुपैयाँ कर्जा तथा सापटी दिएको राष्ट्र बैंकले जारी गरेको मासिक तथ्याङ्कमा उल्लेख छ ।

    ग्लोबल आइएमई बैंक लिमिटेड वाणिज्य बैंकहरु मध्ये सबैभन्दा बढी कर तिर्ने बैंक बनेको छ । बैंकले गत आर्थिक वर्ष २०७९/८० मा पाँच अर्ब ४३ करोड ४४ लाख रुपैयाँ कर तिरेर बाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी कर तिर्ने बैंकको रुपमा अगाडि छ । बैंकले गत आर्थिक वर्षमा ७ अर्ब २५ करोड रुपैयाँ नाफा आर्जन गरेको बैंकद्धारा प्रकाशित वित्तीय विवरणमा उल्लेख छ ।

    रेमिट्यान्स भित्र्याउने कार्यमा पनि यो बैंक अरु भन्दा अगाडि उभिएको छ । २० वटा बैंकहरुमध्ये रेमिट बचत खातामा यस बैंकले सबैभन्दा बढी ब्याज दिईरहेको छ । ग्लोबल आइएमई बैंकले भाद्र महिनाका लागि प्रकाशित गरेको ब्याजदरमा ब्यक्तिगत निक्षेपमा अधिकतम् वार्षिक १०.८९६ प्रतिशत र संस्थागतमा अधिकतम् वार्षिक ९.३९६ प्रतिशत ब्यवस्था गरेको छ ।

    सामान्यतया बैंकहरुले रेमिट्यान्स निक्षेपमा अन्य निक्षेपको ब्याजदर भन्दा १ प्रतिशत धेरै दिइरहेका छन् तर ग्लोबल आइएमई बैंकले अन्य निक्षेपमा भन्दा २ प्रतिशत धेरै दिएको प्रकाशित ब्याजदरको सूचनामा देखिएको छ । रेमिट्यान्स तर्फ बचत निक्षेपमा वार्षिक ९.९६६ प्रतिशत र मुद्दती निक्षेपमा वार्षिक ११.८९६ प्रतिशत रहेको छ ।

    ग्लोबल आइएमई ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकका ३५९ शाखा कार्यालय, ३६२ एटीएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर रहेका छन् ।

    मुलुकभित्र मात्र नभई मुलुक बाहिर पनि यस बैंकले वैदेशिक प्रतिनिधि कार्यालय र अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग साझेदारी गर्दै आफ्ना ग्राहकहरुलाई सेवा दिदैं आएको छ । नाम जस्तै ग्लोबल आईएमई बैंकले आफ्नो सेवा पनि अन्तर्राष्ट्रिय बजार लैजाने प्रयास गरेको छ । हाल यस बैंकले बेलायतको लण्डन, भारतको नयाँ दिल्ली र अष्ट्रेलियाको सिड्नीमा गरी ३ वटा बैदेशिक सम्पर्क कार्यालयहरु मार्फत बैकिङ सेवा दिईरहेको छ ।

    यसरी बैंकले एक हजार एक सयभन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको बैंकले जनाएको छ । ग्लोबल आइएमई बैंकमा ४ हजार बढी कर्मचारी रहेका छन् । २१ वटा बैंक तथा वित्तीय संस्थाहरुको मर्जर तथा एक्विजिसनबाट बनेको ग्लोबल आईएमई बैंकले उत्कृष्ट बैकिङ सेवा दिने प्रयास गरिरहेको बैंकका डेपुटी सीईओ तथा सूचना अधिकारी सुरेन्द्रराज रेग्मीले बताए । नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको नीति तथा निर्देशनको पालना गर्दै ठूलो, सबल र उत्कृष्ट बैंकिङ्ग प्रणाली विकास गर्ने योजना कार्यान्वयनमा बैंक अगाडि बढिरहेको उनले बताए ।

    सबैका लागि बैंक भन्ने नारालाई आत्मसाथ गरेको यो बैंकले स्थापनाको छोटो समयमै आफूलाई एक उत्कृट, सबल र विश्वसनीय बैंकको रुपमा स्थापित गरिसकेको उनको भनाई छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल यस बैंकको सञ्चालक समितिका अध्यक्ष छन् । भेट्रान बैंकर्स रत्नराज बज्राचार्यले प्रमुख कार्यकारी अधिकृतको हैसियतमा यस बैंकको व्यवस्थापनकीय नेतृत्व गरिरहेका छन् ।

    प्रतिकृया दिनुहोस्