News Portal

  • नेपाल टेलिकमले सोलुखुम्बुको ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सञ्चालनमा ल्यायो

    आर्थीकसंसार संवाददाता१४ कार्तिक, २०७७
    १२६४ पटक
    १४ कार्तिक, २०७७

    काठमाडौं । नेपाल टेलिकमले सोलुखुम्बुको विकट स्थान ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । गत असोज २९ देखि सञ्चालनमा आएको मोबाइल सेवामार्फत अब सो क्षेत्रका ग्राहकले कुराकानी गर्न र डाटासमेत चलाउन सक्नेछन् । यो भन्दा पहिले सो क्षेत्रमा कम्पनीको स्काई मोबाइलबाट मात्र सेवा उपलब्ध थियो । नुम्बुर हिमालको काखमा रहेको दुधकुण्ड नगरपालिकाको ताक्सिन्दुस्थित ३ हजार १३० मिटर उचाईमा जीएसएम प्रविधिको बीटीएस टावर स्थापना गरिएको छ । लुक्ला हुँदै नाम्चेसम्म पुग्ने पदयात्री यही रुट भएर जाने हुनाले यसबाट पर्यटकहरु समेत लाभान्वित हुने अपेक्षा गरिएको छ । सो क्षेत्रका नुनथला, फुलेबी, सेरा, खरिखोला, जुबिङ र पैयाँलगायत क्षेत्रका करिब ६ सय घरधुरी अब कम्पनीको मोबाइल सेवाबाट प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् । सेवाग्राहीहरुको सुविधालाई ध्यानमा राखी दुर्गम तथा अति विकट स्थानका रुपमा चिनिने ती क्षेत्रका वस्तीमा नेपाल टेलिकमले निःशुल्क सिम वितरण सुरु गरेको छ ।
    त्यसैगरी सोलुकै दुधकोशी गाउँपालिका–४ जुबु बलंगामा अर्को टावर पनि हालै सञ्चालनमा ल्याइएको छ । करिब १ हजार २३० मिटर उचाईमा रहेको यो टावरले पनि सो क्षेत्रअन्तर्गत पर्ने देउसा, मुक्ली, कागेल, पञ्चन र जुभु गरी सो भेगमा रहेका ४ हजार घरधुरीलाई सेवा प्रदान गर्नेछ । यसका साथै ओखलढुंगाको रुम्जाटारमा नेपाल टेलिकमको ग्राहक सेवा केन्द्र पुनस्र्थापना गरिएको छ । कम्पनीले पहिलेदेखि नै रुम्जाटार र त्यहाँ रहेको विमानस्थलस्थित ग्राहक सेवा केन्द्रमार्फत सेवा प्रदान गरिरहेको भए तापनि करिब २ वर्ष देखि केन्द्र सञ्चालनमा थिएन । ग्राहक सेवा केन्द्र पुनस्र्थापना भएपछि सेवाग्राहीलाई टेलिफोन जडान गर्न, इन्टरनेट सुविधा लिन, नयाँ सिमकार्ड खरिद गर्न वा सिम परिवर्तन गर्न सहज हुनेछ । साथै सेवावापत भुक्तानी गर्नुपर्ने बिल पनि सो केन्द्रमा सहज रुपले भुक्तानी गर्न सकिनेछ ।

    प्रतिकृया दिनुहोस्