News Portal

  • लक्ष्मी सनराइज बैंकको अध्यक्षमा रमण नेपाल र सीईओमा अजय शाह नियुक्त

    आर्थीकसंसार संवाददाता२९ असार, २०८०
    २०६ पटक
    २९ असार, २०८०

    काठमाडौं । लक्ष्मी सनराइज बैंकको अध्यक्षमा रमण नेपाल चयन भएका छन् । लक्ष्मी र सनराइज बैंक मर्ज भई एकीकृत कारोबार पश्चात् बनेको लक्ष्मी सनराइज बैंकको  पहिलाे बैठकले अध्यक्षमा नेपाल चयन गरेको हो ।अध्यक्ष नेपाल साविक लक्ष्मी बैंकको अध्यक्ष समेत थिए ।
    साथै, लक्ष्मी सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अजय बहादुर शाहलाई नियुक्त भएका छन् । शाह साविकको लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् ।
    मर्जरपश्चात् पहिलो साधारणसभासम्मको लागि लक्ष्मी बैंकबाट ४ जना र सनराइज बैंकबाट ३ जना गरी ७ सदस्यीय सञ्चालक समिति बन्ने सहमति भएको थियो । लक्ष्मी बैंकबाट हालका अध्यक्ष नेपाल, सञ्चालकहरु डा.मनीष थापा, स्वाती रुङ्गटा र विद्या बस्नेत सञ्चालक बनेका हुन् । यस्तै, सनराइज बैंकबाट इन्जिनियर बच्छराज तातेड र मालचन्द दुगड सञ्चालक बनेका छन् ।
    मर्जरपश्चात् बन्ने सञ्चालक समितिमा साविक सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगड सिफारिस भएका थिए । तर, शुक्रबार बसेको लक्ष्मी सनराइज बैंकको सञ्चालक समितिको बैठकमा दुगड उपस्थित नभएको अध्यक्ष रमण नेपालले जानकारी दिए । दुगडले साविक लक्ष्मी बैंकबाट ३ अर्ब रुपैयाँ बराबरको कर्जा लिएका कारण सञ्चालक समितिमा उपस्थित नभएका हुन् । कर्जा चुक्ता गरेपछि मात्रै दुगड बैंकको सञ्चालक समितिको बैठकमा उपस्थित हुन पाउने छन् ।
    हाललाई दुगडको सञ्चालक पद रिक्त राखिएको छ । उनले कर्जा चुक्ता गरेपछि मात्रै सञ्चालक समितिको बैठकमा उपस्थित हुन पाउने छन् ।
    पहिलो साधारणसभा सम्पन्नपछि सञ्चालक समिति ५ सदस्यीय हुनेछ । जसमा २ जना संस्थापक, २ जना सर्वसाधाण र १ जना स्वतन्त्र सञ्चालक रहने बैंकले बताएको छ ।
    लक्ष्मी बैंक र सनराइज बैंकले आजदेखि लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार गरेका हुन् । साविक लक्ष्मी बैंकको केन्द्रिय कार्यालयमा एकीकृत कारोबार सुरु गरेको बैंकले जनाएको छ । लक्ष्मी बैंक र सनराइज बैंक १ः१ को स्वाप रेसियोमा मर्ज भएका हुन् । अर्थात् सनराइज बैंकको १ सय कित्ता सेयर भएका सेयरधनीले मर्जरपश्चात् लक्ष्मी बैंकको १ सय कित्ता सेयर प्राप्त गर्नेछन् ।
    लक्ष्मी सनराइज बैंकको चुुक्ता पूँजी २१ अर्ब ६७ करोड रुपैयाँभन्दा बढी पुगेको छ । यस्तै, जगेडा कोष १४ अर्ब ११ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ । यस्तै, बैंकको निक्षेप २ खर्ब ८७ अर्ब रुपैयाँ र कर्जा प्रवाह २ खर्ब ५९ अर्ब रुपैयाँ पुगेको छ भने शाखा सञ्जाल २८४ वटा पुगेका छन् ।

    प्रतिकृया दिनुहोस्