News Portal

  • शाइन रेसुंगा बैंकले जित्यो इमर्जिङ एशिया बैकिंङ अवार्ड

    आर्थीकसंसार संवाददाता२४ असार, २०८०
    ११७ पटक
    २४ असार, २०८०

    बुटवल । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ क्याटेगोरिजका आधारमा शाइन रेसुंगा डेभलपमेन्ट बैंक उत्कृष्ट अवार्ड जितेको हो ।
    इण्डियन च्याम्बर अफ कमर्सले आह्वान गरेको खुल्ला प्रतिस्पर्धामा भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र नेपाल गरी ६ देशका बैंक तथा वित्तीय संस्थाहरुले अवार्डका आवेदन दिएका थिए ।
    अवार्डका लागि इण्डियन च्याम्बर अफ कमर्सको आर्थिक मामिला तथा नीति विभागले विभिन्न १७ वटा सुचक निर्धारण गरेको थियो । जसमध्ये शाइन रेसुंगाले कुल सम्पत्ति, कुल निक्षेप, कुल कर्जा तथा सापटी, खुद कर्जा तथा सापटी, कुल ब्याज आर्जन,कुल ब्याज खर्च,शुल्कमा आधारित आम्दानी,सञ्चालन खर्च,कर पछिको खुद नाफा,प्रावधान र आकस्मिकता तथा अन्य आम्दानी लगायतका सुचकहरुमा उत्कृष्ट भएको थियो ।
    अवार्ड छनोटको निर्णायकमा अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त प्राइसवाटरहाउस कुप (पीडब्लुसी ) रहेको थियो ।
    पीडब्लुसीको उपस्थिति विश्वका १५० देशका ७ सय स्थानमा रहेको छ । उक्त अवार्ड भारतको गोवामा शनिबार वितरण गरिएको थियो ।
    उक्त अवार्ड शाइन रेसुंगा डेभलपमेन्ट बैंकका ब्राण्डिङ हेड प्रभास राईले ग्रहण गरेका थिए । स्थापनाकालदेखि नै इथिकल बैकिङको मूल्य मान्यतामा अगाडि बढेकाले अहिले इमर्जिङ एशिया बैकिंङ अवार्ड प्राप्त गर्न सफल भएको र यसबाट बैंकको उचाई थप माथि पुगेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए ।
    ‘अन्तर्राष्ट्रिय अवार्ड पाउनुमा बैंकका सञ्चालक,कर्मचारी, निक्षेपकर्ता, कर्जा लिएका सर्वसाधारणदेखि उद्योगी व्यवसायी सबैको योगदान र सहयोग छ’–पौडेलले भने ।
    शाइन रेसुंगा डेभलपमेन्ट बैंक बुटवलमा केन्द्रीय कार्यालय रहेको लुम्बिनी प्रदेशको एक मात्र राष्ट्रिय स्तरको विकास बैंक हो ।  बैंकका देशभर ८८ वटा शाखा, एउटा एक्सटेन्सन काउन्टर र १६ वटा एटीएम सञ्चालनमा छन् ।

    प्रतिकृया दिनुहोस्