News Portal

  • गार्डियन माइक्रो लाइफले शुरु गर्यो कारोबार, लघुबीमा कम्पनीमध्ये पहिलो बन्न सफल

    आर्थीकसंसार संवाददाता२२ असार, २०८०
    १०४ पटक
    २२ असार, २०८०

    काठमाडौं । लघु जीवन बीमा कम्पनी गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले कारोबार शुरु गरेको छ । इन्स्योरेन्सले असार २२ गतेदेखि जीवन लघुबीमा व्यवसाय शुरु गरेको हो ।
    जीवन लघुबीमा व्यवसाय सञ्चालन गर्न इजाजत पाएको गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको उद्घाटन भएको छ । कम्पनीको उद्घाटन नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेलले असार २२ गते गरेका हुन् ।
    इन्स्योरेन्स उद्घाटनसँगै कम्पनीले आफ्नो व्यवसाय समेत शुरु गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक पौडेलले डिजिटल प्रणालीबाट पोलिसी स्वीकृत गर्दै कम्पनीको व्यवसाय शुभारम्भ गरेका हुन् ।
    यससँगै गार्डियन माइक्रो लाइफ लघुबीमा कम्पनीमध्ये कै पहिलो कम्पनी बन्न सफल भएको छ । गार्डियनसहित अन्य ७ वटा लघुबीमा कम्पनीले व्यवसाय सञ्चालन गर्नको लागि प्राधिकरणबाट इजाजत पाएका  छन् ।
    कम्पनीले आफ्नो मूख्य कार्यालय कोशी प्रदेश अर्थात मोरङको विराटनगरबाट आफ्नो व्यवसायिक कारोबार शुरु गरेको हो । कम्पनीले अनलाइन प्रणालीबाटै बीमा पोलिसी खरिद गर्न मिल्ने व्यवस्था मिलाएको छ ।
    प्राधिकरणले कम्पनीको चुक्ता पुँजी ७५ करोड रुपैयाँ तोकिदिएको छ । कम्पनीको अध्यक्षमा उदिप श्रेष्ठ, सीईओमा चिरायु भण्डारी र नायव प्रमुख कार्यकारी अधिकृतमा ज्योति प्रकाश पाण्डे छन् ।
    कम्पनीमा ठूला घरानका विभिन्न व्यक्तिसहित कूल ४४ जनाको लगानी छ । शेखर गोल्छा, पशुपति मुरारका, भवानी राणा लगायतका विभिन्न व्यवसायी तथा व्यक्तिहरुले यो कम्पनीमा लगानी गरेका छन् । जसमध्ये हुलास अटोक्राफ्टका शेखर गोल्छाले एक करोड, पशुपति मुरारकाले ५० लाख र टाइटेनियम क्यापिटलका भवानी राणाले ५ करोड ५० लाख रुपैयाँ बराबरको लगानी गरेका छन् । गार्डियन माइक्रो लाइफमा सबैभन्दा बढी लगानी एसजी फिन्कोर्पका शंकरलाल अग्रवालले गरेका छन् । यो कम्पनीमा उनको ११ करोड २५ लाख रुपैयाँ बराबरको लगानी छ ।
    त्यस्तै, एक करोडदेखि १० करोडसम्म लगानी गर्नेमा शेखर गोल्छा, भवानी राणासहित १० जना रहेका छन् । त्यसैगरी, व्यवसायी पशुपति मुरारकासहित ७ जनाले कम्पनीमा ५० लाख रुपैयाँ लगानी गरेका छन् । र, ५० लाखभन्दा कम अर्थात १० लाखभन्दा बढी लगानी गर्नेमा अन्य २६ जना लगानीकर्ताहरु रहेका छन् ।

    प्रतिकृया दिनुहोस्