News Portal

  • प्रदेशका कम्पनीलाई प्राधिकरणले भन्यो : उधारो बीमा रोक्नुस्, दररेटलाई पूर्ण रुपमा पालना गर्नुस्

    आर्थीकसंसार संवाददाता३२ जेठ, २०८०
    १७० पटक
    ३२ जेठ, २०८०

    काठमाडौं । नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयले बीमा कम्पनीहरुलाई उधारो बीमा रोक्नेदेखि दररेटलाई पूर्ण रुपमा पालना गर्न निर्देशन दिएको छ । प्राधिकरणले निर्जीवन बीमा कम्पनीका प्रदेश प्रमुखहरूसँग छलफल गरी कम्पनीहरुलाई सो निर्देशन दिएको हो ।
    उक्त छलफलमा स्थानीय तहसँग अन्तरक्रिया गर्ने, उधारो बीमालाई रोक्ने, दररेटलाई पालना गर्नेदेखि नगद फिर्ता गर्नेसम्मको निर्णय भएको बीमा प्राधिकरणको लुम्बिनी प्रदेश प्रमुख पुर्ण बहादुर थापाले बताए ।
    स्थानीय तहसँग अन्तरक्रिया कार्यक्रम
    लुम्बिनी प्रदेशमा रहेका बीमा कम्पनीले कुनै एउटा स्थानीय तह, वडा कार्यालय, टोल समुदायमा कार्यक्रम गर्नुपर्ने भएको छ । सो कार्यक्रम गर्दा बीमा प्राधिकरणको एक जना प्रतिनिधिको रोहवरमा गर्नुको साथै सो कार्यक्रमको प्रतिवेदन सात दिनभित्र प्राधिकरणको प्रदेश कार्यालयमा अनिवार्य रुपमा पेश गर्नुपर्ने निर्णय भएको प्राधिकरणका प्रदेश प्रमुख थापाले बताए ।
    उधारो बीमालाई पूर्ण रुपमा रोक्ने
    बीमा ऐन २०७९ को दफा ६४ को उपदफा (२) को व्यवस्था बमोजिम पुरा बीमाशुल्क प्राप्त भएपश्चात बीमालेख जारी गर्नु पर्ने व्यवस्थालाई पूर्ण रुपमा पालना गर्नुपर्ने भएको छ ।
    दररेटलाई पालना गर्नुपर्ने
    प्राधिकरणको विभिन्न समयमा जारी गरिएको निर्देशिका तथा निर्देशनले तोकिए बमोजिमका दररेटलाई पूर्ण रुपमा पालना गर्ने निर्णय भएको छ । जुन बीमा ऐन २०७९ को दफा ६४ को उपदफा (१) को व्यवस्था बमोजिम हुने पर्ने छ ।
    नगद फिर्ता
    कम्पनीले व्यवसाय लिए बापत नगद, जिन्सी तथा अन्य कुनै पनि माध्यमबाट सम्बन्धित बीमितलाई प्रभाव पार्ने गरेको पाइएको भन्दै सो कार्यलाई रोक्ने निर्णय भएको प्रदेश प्रमुख थापाले बताए । उनका अनुसार उक्त प्रचलनले कम्पनीको नाफा लगायत अस्वस्थ प्रतिस्पर्धा हुन गएकोले सो कार्यलाई रोक्नको लागि बीमकका लुम्बिनी प्रदेश प्रमुखहरुको सहमतिमा सो निर्णय भएको हो ।

     

    प्रतिकृया दिनुहोस्