News Portal

  • पोखरामा नेपाल लाइफको आफ्नै भवन, थप घरजग्गा खरिद गर्दै कम्पनी

    आर्थीकसंसार संवाददाता२२ जेठ, २०८०
    ९८ पटक
    २२ जेठ, २०८०

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखराको न्युरोडस्थित आफ्नै सुविधा सम्पन्न भवनको उद्घाटन गरेको छ ।
    जेठ २२ गते आयोजित एक कार्यक्रमबीच कम्पनीका सञ्चालक समितिका सदस्यहरु कमलेश अग्रवाल, विमल प्रसाद ढकाल र कृष्णराज लामिछाने, कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशका प्रादेशिक प्रमुख केशव राज ढकालले संयुक्त रूपमा रिवन काटेर उक्त भवनको उद्घाटन गरेका हुन् ।
    करिब तीन हजार दुई सय २० वर्ग फीटमा फैलिएको उक्त भवनमा गण्डकी प्रदेशको प्रादेशिक कार्यालय र पोखरा शाखा कार्यालय रहने छ ।
    उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा यस कम्पनीका संचालक समितिका सदस्य कमलेश अग्रवालले निकट भविष्यमा नै कम्पनीले नेपालका मुख्य शहरहरुमा घर जग्गा खरिद गर्ने योजना सहित कार्यारम्भ गरिसकेको बताए । अग्रवालले २०७२ मा संविधान जारी भए पश्चात नेपालले संघियताको ढाँचा अवलम्बन गरेको र यसैलाई मुर्त रुप प्रदान गर्ने अभिप्रायका साथ नेपाल लाइफले सातै वटा प्रदेशमा प्रादेशिक कार्यालयको स्थापना गरिसकेको कुरा बताए ।
    नेपालको जनसंख्याको करिव १० प्रतिशत जनतालाई जीवन बीमा सम्बन्धि सेवा प्रवाह गर्दै नेपाली जीवन बीमाको क्षेत्रमा विभिन्न सुचाकहरुको आधारमा अब्बल रहँदै आफुलाई नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीको रूपमा नेपाल लाइफ स्थापित रहेको उनले दावी गरेका छन् ।
    त्यस्तै, नेपाल बीमा प्राधिकरण, गण्डकी प्रदेशका प्रमुख केशव राज ढकालले नेपाल लाइफले प्रादेशिक कार्यालय स्थापना गरी नेपाल बीमा प्राधिकरणले लिएको नीतिलाई सघाएको बताए । प्रादेशिक कार्यालय स्थापना गरी केन्द्रिय कार्यालयबाट प्रदान गरिने सेवाहरु स्थानिय ठाउँबाट प्रदान गर्न सके बीमा सचेतामा बढ्न गई बीमा प्रति मान्छेको आकर्षण बढ्नेमा आफु विश्वस्त रहेको उनले बताए ।
    कार्यक्रममा बोल्दै संचालक समितिका सदस्य विमल प्रसाद ढकालले बीमा व्यवसाय आफ्नो सिमा आफै तोकेर गर्न सकिने व्यवसाय रहेको बताए ।
    कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले पोखरामा घर खरिद गरि सेवा प्रवाह गर्नु रणनैतिक रूपमा एकदमै महत्वपुर्ण रहेको बताए । आगामी दिनहरुमा कम्पनीलाई थप सशक्त बनाउनका निम्ति नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकहरुको सेवाको गुणस्तरियतालाई थप प्रभावकारी बनाउन कम्पनीले समय सुहाँउदो योजना ल्याउने उनले बताए ।
    नेपाल लाइफसँग अहिलेको अवस्थामा चुनौतिका साथसाथै प्रशस्त अवसरहरु समेत रहेको बताउँदै उनले । प्रादेशिक कार्यलयको स्थापनासंगै प्रशासनिक कार्यहरुको विकेन्द्रीकरण संगै सेवा प्रवाह थप सरल, सहज र प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
    प्रादेशिक कार्यालय हुनुले कार्यसम्पादन सहज हुन गई बीमा बजारको बजारीकरण, बीमा सचेतना तथा बीमा बजारमा स्वस्थ प्रतिस्पर्धा हुने र ग्राहकहरुले गुणस्तरीय सेवा प्राप्त गर्नेमा आफु ढुक्क रहेको उनले बताए ।

     

    प्रतिकृया दिनुहोस्