
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । ९ महिनाअघि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले होल्ड गरेको विधेयक राष्ट्रपति पौडेलले बुधबार बिहान प्रमाणीकरण गरेका हुन् ।
मन्त्रिपरिषद्को १२ जेठको निर्णय अनुसार विधेयकको विभिन्न अवस्था र स्थिति उल्लेख गरी प्रमाणीकरणका लागि मन्त्रिपरिषद् कार्यालयले पत्र लेखेको भन्दै राष्ट्रपति पौैडेलले आफ्नो निर्णयमा लेखेका छन्, ‘नेपालको संविधानको धारा ६१ को उपधारा (२) (३) (४) र धारा ६६ एवं सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त बमोजिम विधेयक प्रमाणीकरण गरेको छु ।’
साथै गैरआवासीय नेपालीले माग गर्दै आएको एनआरएनए नागरिकता प्राप्तिका लागि पनि बाटो खुलेको छ । उनीहरुले नागरिकता पाए पनि राजनीतिक अधिकार भने पाउने छैनन् । तर एनआरएनए नागरिकता प्राप्तिका लागि विधेयक प्रमाणीकरण मात्र पर्याप्त हुन्न । यसको प्रक्रियागत कुराहरू खुलाउन नियमावली चाहिन्छ ।
राजनीति र सरकारी जागिरमा ‘नो इन्ट्री’
गैर आवासीय नेपालीले नागरिकता पाउन केही शर्त छन् । पहिलो, एनआरएनए नागरिकता लिन चाहने व्यक्ति स्वयं वा बाबु वा आमा, बाजे वा बज्यैले नेपालको नागरिकता लिएको हुनुपर्छ ।
यदि एनआरएनए नागरिकता लिन चाहने व्यक्ति स्वयंले नेपालको नागरिकता लिएको भए त्याग गरेको र सार्क मुलुक बाहेकका देशको नागरिकता लिएको प्रमाण पेश गर्नुपर्छ ।
साथै नेपालको संविधान र कानुनको परिपालना गर्ने प्रतिबद्धता पत्र पनि जनाउनुपर्छ ।
यसरी नागरिकता लिएपछि राजनीतिक र प्रशासनिक बाहेकका अधिकार प्रयोग गर्न पाइन्छ । २०७२ को नयाँ संविधानमै एनआरएनए नागरिकता वाहकले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार मात्र उपभोग गर्न पाउने उल्लेख गरिएको छ ।
अर्थात् एनआरएनए नागरिकता वाहकले मतदान गर्ने, राजनीतिक दल खोल्ने वा दलको पदाधिकारी हुने, जनप्रतिनिधि हुने, राजनीतिक नियुक्तिमा जाने राजनीतिक अधिकार पाउने छैनन् । सरकारी सेवामा प्रवेश गर्ने प्रशासकीय अधिकार पनि एनआरएनए नागरिकता वाहकले पाउने छैनन् ।
सम्पत्ति किनबेचमा सहज
एनआरएनए नागरिकताले आर्थिक गतिविधि गर्न भने गैरआवासीय नेपालीलाई सहज हुन्छ ।
वरिष्ठ अधिवक्ता अधिकारीका अनुसार विदेशको नागरिकता लिनुअघि नै नेपालमा जोडेको सम्पत्तिलाई विद्यमान कानुनले असर गरेको छैन । तर त्यसलाई राख्ने कि नराख्ने भन्ने धेरैमा अन्योल थियो । अब त्यो पिरलो हटेको भन्दै उनले भने, ‘एनआरएनए नागरिकताले अब त्यो तीन पुस्तालाई सुरक्षित भयो ।’
अधिवक्ता सुनिल पोखरेलका अनुसार एनआरएनएलाई नेपालमा जग्गा खरिदमा पनि सीमा थियो । सरकारसँग अनुमति लिएर काठमाडौं उपत्यकामा २ रोपनी र बाहिर नगर क्षेत्रमा ८ कट्ठा किन्न सकिने व्यवस्था छ । व्यापार व्यवसायका लागि एनआरएनए कार्ड मार्फत जानुपर्ने थियो । अब एनआरएनए नागरिकता लिएपछि उनीहरूले अरू नेपाली नागरिक सरह सम्पत्ति जोड्न र व्यापार व्यवसाय गर्न सक्ने उनले बताए ।
नेपालको नागरिकता नत्यागेको र विदेशको नागरिकता लिएको अवस्थामा नेपालमा सम्पत्ति जोड्नेहरू पनि रहेको अनुमान छ । तर यसको यकिन विवरण छैन । उनीहरूले नेपालको नागरिकता प्रयोग गरेर घरजग्गा खरिद गरेका हुन सक्छन् ।
अहिलेको कानुन बमोजिम यो सम्पत्ति अवैध हुन्छ । तर संविधानले आफ्नो सम्पत्तिको अधिकार सुनिश्चित गरेका कारण एनआरएनए नागरिकता लिएपछि त्यो सम्पत्तिलाई एक पटकका लागि वैध बनाउने बाटो खोल्नुपर्ने उनी बताउँछन् ।
अधिवक्ता पोखरेल भन्छन्, ‘अब सरकारले विदेशको नागरिकता लिएर पनि नेपालमा सम्पत्ति जोडेको छ भने एनआरएनए नागरिकता प्राप्त गरेको निश्चित अवधिभित्र ट्रान्सफर गर्न दिने र त्यसपछि अवैध हुने घोषणा गर्यो भने सदाका लागि समस्या समाधान हुन्छ ।’
फेरि नेपाली नागरिकता लिन पाइन्छ ?
गैरआवासीय नेपालीहरूमा एक पटक एनआरएनए नागरिकता लिएपछि भोलि चाहेको बेला नेपालको वंशजको नागरिकता पाइन्छ कि पाइन्न भन्ने प्रश्न छ ।
वरिष्ठ अधिवक्ता अधिकारीका अनुसार यो विषय प्रष्ट छैन । एनआरएनए नागरिकताको व्यवस्था आउनुअघि विदेशको नागरिकता त्यागे नेपालको नागरिकता लिनसक्ने व्यवस्था रहेको स्मरण गर्दै उनले अगाडि भने, ‘पाइरहेको अधिकार घटाउने हुन्न होला ।’