News Portal

  • सानिमा रिलायन्सको एकीकृत कारोबार शुभारम्भ

    आर्थीकसंसार संवाददाता९ चैत, २०७९
    २८२ पटक
    ९ चैत, २०७९

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा क्षेत्रमा दोस्रो सफल मर्जरको इतिहास रचेको छ । साविक सानिमा लाइफ र रिलायन्स लाइफले नेपाल बीमा प्राधिकरणबाट एकै पटक जीवन बीमा व्यवसाय सञ्चालनको लागि लाइसेन्स प्राप्त गरेका थिए । स्थापनाको छोटो समयमा आ-आफ्नो स्थानमा आफुलाई स्थापित गर्न सफल यी दुई कम्पनीले आजदेखि एकिकृत कारोबारको शुभारम्भ गरेका छन् ।
    मर्जरका लागि दुई कम्पनीले गत असार २९ गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । १:१ को स्वाप अनुपातमा मर्जर भएका यी कम्पनीले फागुन १२ गते साधारणसभाबाट मर्जरको प्रस्ताव पारित गरेका थिए ।
    हाल रिलायन्स लाइफको चुक्ता पूँजी २ अर्ब १० करोड र सानिमा लाइफको २ अर्ब  ८ करोड ४० लाख रुपैयाँ रहेको छ । मर्जरपछि चुक्ता पूँजी ४ अर्ब १८ करोड  ४० लाख रुपैयाँ पुग्नेछ । बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरुलाई चैत मसान्तसम्म चुक्ता पूँजी ५ अर्ब पुर्‍याउन निर्देशन दिएको  छ। उक्त निर्देशन अनुसार मर्जरपछि चुक्ता पुग्न अझै ९० करोड रुपैयाँको जोहो गर्नुपर्ने हुन्छ ।
    मर्जर पछि कम्पनीमा कर्मचारीको संख्या ५५० नाघ्नेछ । त्यस्तै मर्जरका क्रममा शाखा सञ्जाल १७५ वटा पुगेको छ । विगतमा दुई कम्पनीको शाखा कार्यालय १२०/१२२ वटा थियो । खासै व्यवसाय नहुने शाखालाई मर्ज गरिएको छ । दुबै कम्पनीले शाखा कार्यालयमा एक दुई जना कर्मचारीबाटै सञ्चालन गर्दै आएका थिए । यसले गर्दा पनि कम्पनीलाई कर्मचारी व्यवस्थापन धेरै सहज भयो ।
    मर्जर पछि दुई कम्पनीका २० वटा पोलिसीले निरन्तरता पाएका छन् । उस्तै प्रकृतिका पोलिसीहरुलाई पनि समायोजन गरिएको छ । मर्जर पछि सक्रिय अभिकर्ताको संख्या १२ हजार ५०० जना नाघेको छ ।
    हाल रिलायन्स लाइफको जीवन बीमा कोषमा ४ अर्ब २५ करोड रुपैयाँ रहेको छ भने सानिमाको ४ अर्ब ८ करोड रुपैयाँ छ । मर्जर सँगै जीवन बीमा कोष ८ अर्ब ३३ करोड नाघेको छ । दोस्रो त्रैमाशिक अवधिमा दुबै कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार सानिमा लाइफको मुनाफा ११ करोड ६१ लाख रुपैयाँ थियो भने रिलायन्सको १६ करोड ६७ लाख रुपैयाँ रहेको छ । मर्जर पछि मुनाफा २८ करोड २९ लाख रुपैयाँ देखिन्छ ।
    जगेडा कोष हेर्ने हो भने रिलायन्सको ३९ करोड ९४ लाख रुपैयाँ छ भने सानिमाको ३५ करोड ९० लाख रुपैयाँ छ । मर्जर सँगै जगेडा कोषमा ७५ करोड ८४ लाख रुपैयाँ नाघेको छ । बराबरी हैसियतमा मर्जर भएका यि दुईको मर्जर पछिको चुक्ता पूँजी ४ अर्ब १० करोडबाट ५ अर्ब पुर्याउन कम्पनीलाई अझै एक वर्ष कुर्नु पर्ने देखिएको छ । अहिले जगेडा कोषमा भएको रकम ९० करोड नाघे पछि मात्रै कम्पनीले ५ अर्ब पुर्याउन सक्ने देखिन्छ । त्यसमा पनि जगेडा कोषको सम्पुर्ण रकमलाई बोनस शेयरको रुपमा वितरण गर्न पाइदैन ।
    हाल रिलायन्स लाइफको लगानी ७ अर्ब १६ करोड रहेको छ भने सानिमाको ६ अर्ब ३४ करोड छ । मर्जर पछि लगानी १३ अर्ब ५० करोड नाघेको छ । माघ मसान्तसम्ममा सानिमा लाइफको कुल बीमा शुल्क आर्जन एक अर्ब ७८ करोड रहेको छ भने सानिमाको एक अर्ब ४८ करोड रुपैयाँ छ । मर्जर पश्चात कुल बीमा शुल्क आर्जन यहि अवधिमा पनि तीन अर्ब २६ करोड हुन आउछ ।
    कम्पनीले जारी गरेको पोलिसी संख्या हेर्ने भने सानिमा लाइफको सक्रिय बीमालेखको संख्या ८२ हजार ३६६ वटा र रिलायन्स लाइफको ४ लाख ७३ हजार भन्दा माथि रहेको छ ।
    मर्जर सँगै सानिमा लाइफका प्रमुख कार्यकारी अधिकृत अगम मुखिया केही समय वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत हुने छन् । मर्जर कमिटीले दुई कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई निरन्तरता नदिइ बाहिरबाट शिवनाथ पाण्डेलाई आज नै बस्ने एकीकृत कम्पनीको संचालक समितिको बैठकले सिइओ नियुक्ति गरेर स्वीकृतको लागि नेपाल बीमा प्राधिकरणमा पठाउने छ । रिलायन्स लाइफका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेल वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत हुने छन् ।

    प्रतिकृया दिनुहोस्