News Portal

  • प्रभु बैंकद्वारा सुपर आँखुखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

    आर्थीकसंसार संवाददाता११ असोज, २०७७
    ११३९ पटक
    ११ असोज, २०७७

    काठमाडौं । प्रभु बैंकको सहवित्तीयकरणमा २५.४ मेगावाट क्षमताको सुपर आँखुखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । कुल ४ अर्ब ५६ करोड रुपैयाँ लागतको सो आयोजनामा प्रभु बैंकको नेतृत्वमा ७५ प्रतिशत अर्थात ३ अर्ब ४२ करोड रुपैयाँ ऋण लगानी गर्ने सम्झौता भएको हो ।
    सम्पन्न एक कार्यक्रममा प्रभु बैंकको नेतृत्वमा कर्मचारी सञ्चय कोष र कृषि विकास बैंकले गोरक्ष हाइड्रोपावर प्रालिद्वारा प्रवद्र्धित उक्त आयोजनासँग ऋण लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् । ऋण सम्झौतामा प्रभु बैंकको तर्फबाट प्रमुख व्यापार अधिकृत रेनुप्रसाद पाण्डे, कृषि विकास बैंकका तर्फबाट कर्जा लगानी शाखा प्रमुख मिनराज पोखरेल, कर्मचारी सञ्चय कोषका तर्फबाट ट्रेजरी तथा लगानी शाखा प्रमुख अर्जुनकुमार गौतम र गोरक्ष हाइड्रोपावरका तर्फबाट प्रबन्ध सञ्चालक रघुनाथ पुरीले हस्ताक्षर गरेका हुन् ।
    सो आयोजनामा प्रभु बैंकले १ अर्ब ८२ करोड रुपैयाँ, कर्मचारी संचय कोषले ८५ करोड रुपैयाँ र कृषि विकास बैंकले ७५ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन् । आयोजनामा कुल लागतको २५ प्रतिशत अर्थात १ अर्ब १४ करोड रुपैयाँ कम्पनीले संस्थापक र सर्वसाधारणबाट पुँजीमार्फत जुटाउनेछ ।
    धादिङ्ग जिल्लाको रुबीभ्याली गाउँपालिकामा निर्माणाधीन सो आयोजनाबाट सुख्खायाममा ४१.६३ गिगावाट आवर र वर्षायाममा ९६.६३ गिगावाट आवर गरी कुल वार्षिक १३८.२६ गिगावाट आवर विद्युत उत्पादन हुनेछ । कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग टेक अर पेको आधारमा विद्युत खरिद बिक्री सम्झौता सम्पन्न गरिसकेको छ । बैंकले देशभर हालसम्म विभिन्न ४० भन्दा बढी विद्युत आयोजनाहरुमा लगानी गरिसकेको प्रभु बैंकका सिईओ अशोक शेरचनले बताए ।

    प्रतिकृया दिनुहोस्