News Portal

  • नेपाल रिले ७ वर्षमा कमायो पाँच अर्ब बढी नाफा, लगानीकर्तालाई उचित प्रतिफल दिने

    आर्थीकसंसार संवाददाता२१ कार्तिक, २०७९
    २८७ पटक
    २१ कार्तिक, २०७९

    काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) ले सात वर्षको अवधिमा ५ अर्बभन्दा बढी नाफा कमाएको छ । कम्पनीले आर्थिक वर्ष २०७१/७२ देखि आर्थिक वर्ष २०७७/७८ सम्ममा कूल ५ अर्ब ८ करोड ७६ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको हो ।

    आर्थिक वर्ष २०७७/७८ सम्ममा कम्पनीको चुक्ता पुँजी ११ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पुँजी पुगेको छ । त्यस्तै, जगेडा तथा कोपाको आकार बढेर १ अर्ब १७ करोड रुपैयाँ पुगेको छ भने बीमा कोषको आकार २ अर्ब २३ करोड रुपैयाँ पुगेको छ ।
    समीक्षा वर्षमा कम्पनीले १० अर्ब ४५ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै, पुनर्बीमा कमिशनबाट २ करोड ६९ लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ ।
    उक्त आवमा कम्पनीले ५ अर्ब २७ करोड रुपैयाँ बराबरको खुद दावी भुक्तानी गरेको छ । आव २०७१/७२मा १४ जना रहेको कम्पनीको कर्मचारी संख्या आव २०७७/७८ मा ४५ पुगेको कम्पनीले जानकारी गराएको छ ।
    कम्पनी आजबाट स्थापनाको नवौं वर्षमा प्रवेश गरेको छ । नेपाल रि वि.सं २०७१ कार्त्तिक २१ गते नेपालमा पहिलो पुनर्बीमा कम्पनीको रुपमा स्थापना भएको थियो । हालसम्ममा कम्पनीले नेपाल भित्रका ३९ बीमा कम्पनी र २९ विदेशी मूलुकका २९ पुनर्बीमा कम्पनीहरुसँग व्यवसायिक सम्बन्ध बनाइसकेको छ । त्यस्तै, नेपालमा विदेशी मुद्रा आर्जनमा विशेष भूमिका रहेको नेपाल रिले बीमा कम्पनीहरुको जोखिम बहन क्षमतामा समेत वृद्धि गर्दै गएको छ ।
    यो अवसरमा कम्पनीका अध्यक्ष डा. रबिन्द्र घिमिरेले विशाल जोखिमका लागि सहरक्षावरण कोषको स्थापना गर्ने, कम्पनीको वित्तीय अवस्था सबल बनाउँदै लैजाने, व्यवसायीक सम्बन्धलाई थप सुमधुर बनाउने, जोखिम हस्तान्तरणबाट मानव जीवनलाई शान्त र आर्थिक क्षेत्रलाई सक्रिय बनाउने लगायत लगानीकर्ताहरुलाई उचित प्रतिफल दिने प्रतिवद्धता गरेका छन् ।
    त्यस्तै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकरकुमार रायमाझीले कम्पनीको क्षमता वृद्धि गर्दै स्वदेशी एवं विदेशी बीमक पुनर्बीमकलाई विश्वास दिलाई अगाडि बढ्न कम्पनी तत्पर रहेको बताए । साथै, उनले स्वदेशबाट बर्हिगमन भइरहेको विदेशी मुद्रालाई थप न्यूनिकरण गर्दे पुनर्बीमा व्यवसाय मार्फत विदेशी मुद्रा भित्र्याउन, गुणस्तरीय एवं प्रभावकारी सेवा प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेको समेत जानकारी गराए ।

     

    प्रतिकृया दिनुहोस्