News Portal

  • सिद्धार्थ बैंकले ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने

    आर्थीकसंसार संवाददाता८ असोज, २०७७
    ५९६ पटक
    ८ असोज, २०७७

    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले असोज १६ गते शुक्रबारबाट ३ अर्ब रूपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । जसमध्ये बैंकले १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणका लागि र १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई बिक्री गर्नेछ ।
    त्यस्तै, सर्वसाधारणका लागि निष्काशन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । त्यसैले, सर्वसाधारणले बाँकी ११ लाख ४० हजार कित्ताका लागि मात्र आवेदन दिन सक्नेछन् ।
    बैंकले ७ वर्ष अवधिको लागि ‘८ दशमलव ५ प्रतिशत, ७ वर्ष एसबिएल डिबेन्चर २०८४’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । नियामक निकाय नेपाल धितोपत्र बोर्डले असोज १ गते बिहीबार ऋणपत्र निष्कासन गर्न अनुमति दिएको थियो ।
    असोज १६ गते शुक्रबारबाट निष्काशन गरिने उक्त ऋणपत्रमा छिटोमा असोज २० गते र ढिलोमा असोज ३० गतेसम्म आवेदन दिन सकिनेछ ।
    बैंकले निष्कासन गर्न लागेको ऋणपत्रलाई इक्रा नेपालले इक्राएनपी आईआर ए माइनस एटदरेट रेटिङ प्रदान गरेको छ ।
    उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यपिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
    लगानीकर्ताले एनएमबि क्यपिटल लिमिटेड, सिद्धार्थ बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

    प्रतिकृया दिनुहोस्