News Portal

  • ग्रामीण विकास लघुवित्तले कोरोना कोषमा सहयोग

    आर्थीकसंसार संवाददाता
    ७५० पटक

    २० साउन, २०७७
    काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा कर्मचारीहरुका तर्फबाट ३४ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।
    सो वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृतलगायत सबै कर्मचारीहरूबाट सहयोग स्वरुप संकलन गरिएको रकम ३४ लाख २३ हजार ६ सय ९८ रूपैयाँको चेक कोषमा जम्मा गरिएको बताएको छ । उक्त सहयोग रकम वापतको चेक संस्थाका सञ्चालक समितिका अध्यक्ष चण्डीप्रसाद घिमिरे र प्रमुख कार्यकारी अधिकृत पर्वतकुमार कार्कीले अर्थमन्त्री डा. युवराज खतिवडालाई हस्तान्तरण गरेका हुन् ।
    कार्यक्रममा अर्थमन्त्रीले लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरूले गरेको सहयोग प्रति धन्यवाद ब्यक्त गर्नुका साथै यस रकमलाई सरकारले ठूलो सहयोग मानेको र यसरी संकलन भएको रकम कोरोना संक्रमण तथा विपतमा परेका नागरिकहरूको उपचार र उद्धारका लागि नेपाल सरकारले पूर्णरुपमा सदुपयोग गर्ने आश्वासन दिएका थिए ।
    उक्त अवसरमा संस्थाका कम्पनी सचिव दिपकप्रसाद पाण्डे, कर्जा व्यवस्थापन नीति तथा योजना विभागका प्रमुख किरण काफ्ले, वित्त व्यवस्थापन विभागका प्रमुख मोतिराज खनाल र संस्थामा क्रियाशील दुबै कर्मचारी युनियनका अध्यक्षहरुको समेत उपस्थिति रहेको संस्थाले जनाएको छ ।
    संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारले स्थापना गरेको उक्त कोषमा ११ लाख रुपैयाँ र सबै सात प्रदेश सरकारहरूले स्थापना गरेको यस प्रकारको कोषमा प्रत्येक प्रदेशलाई समान २ लाख ५० हजार रुपैयाँले गरी कुल रकम २८ लाख ५० हजार रुपैयाँ सहयोग गरिसकेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्