काठमाडौं । जीवन बीमा कम्पनी र सोमा आबद्ध कर्मचारीहरु अब आचारसंहितामा बाँधिने भएका छन् । नेपाल जीवन बीमक संघले १९ वटै जीवन बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुको लागि आचारसंहिता लागू गर्न लागेको हो । संघले आचारसंहिताको मस्यौदा बनाएर छलफल सुरु गरेको जनाएको छ ।
जीवन बीमक संघका अध्यक्ष शिवनाथ पाण्डेले भने, ‘जीवन बीमा कम्पनीहरुमा सुशासन अनुभूति गराउन नयाँ संहिता लागू गर्दैछौं ।’ अध्यक्ष पाण्डेले रचनात्मक र नतिजामुखी परिणाम दिने आचारसंहिता लागू गरिने बताए । संघका अनुसार अबको केही चरणको छलफलपछि १९ वटै बीमा कम्पनीका सिईओहरुले हस्ताक्षर गरेपछि संहिता लागू हुनेछ ।
पछिल्लोपटक जीवन बीमा कम्पनीका उच्च पदस्थ कर्मचारीदेखि तल्ला तहका कर्मचारीहरुसमेत पद र आर्थिक प्रलोभनमा परेर कम्पनी चहार्ने क्रम बढेपछि आचारसंहिताले निश्चित पद्धतिमा बाँध्न लागेको संघले जनाएको छ । असोज १ गते बसेको बीमक संघको बैठकमा आचारसंहिताको मस्यौदामाथि प्रारम्भिक छलफल भएको छ । संघबाट प्राप्त जानकारीअनुसार कम्पनी र कर्मचारीहरुलाई अधिकतम छ वटा आचारसंहिताले बाँध्न प्रस्ताव गरिएको छ । हाल प्रस्तावित रुपमा रहेको आचारसंहितामा अधिकृत वा सो भन्दा माथिका कर्मचारीको लागि राजिनामा स्वीकृत भई क्लीयरेन्स लिएपछि एक महिना कुलिङमा बसेपछि मात्रै नयाँ कम्पनीले नियुक्ती दिन पाउने प्रस्ताव गरिएको छ । त्यस्तै, राजीनामा स्वीकृत नभएको अवस्थामा राजीनामा दिएको ४५ दिनपछि मात्रै नयाँ कम्पनीले नियुक्ती दिन पाउने व्यवस्था प्रस्ताव गरिएको छ ।
जीवन बीमक संघको नयाँ संहिताले कर्मचारीहरुको कार्य अनुभवको क्रेडिट ट्रान्सफर गर्ने व्यवस्थासमेत गरेको छ । जसअनुसार दुई वर्षभन्दा कम कार्यअनुभव भएका कर्मचारीहरुलाई सोही पदमा मात्रै अर्काे कम्पनीले नियुक्ती दिनुपर्ने प्रस्ताव गरिएको छ । पुरानो कम्पनीमा दुई वर्षभन्दा बढी काम गरिसकेको अवस्थामा मात्रै एक तह बढुवा गरी नियुक्ती दिन पाउने प्रस्ताव आचारसंहितामा गरिएको छ । त्यसैगरी, अधिकृतभन्दा तल्लो तहका कर्मचारीलाई कुलिङ नलाग्ने तर कर्मचारी नियुक्ति गर्दा राजीनामा दिई बुझबुझारथ गरी क्लियरेन्स लिएपछि वा छोडेको कम्पनीमा राजीनामा दिएको १५ दिन पूरा भएपछि मात्रै नयाँ कम्पनीले नियुक्त गर्न पाउने व्यवस्था प्रस्ताव गरिएको छ ।
आचारसंहितामा गाडीको सुविधा लिएका कर्मचारीहरुले दुई वर्ष नपुगेको हकमा सो गाडीको ह्रास कट्टी गरी आफैले खरिद गर्नुपर्ने छ भने अवधि नतोकिएको अवस्थामा कम्तीमा दुई वर्ष पूरा भएको तथा अवधि तोकिएको हकमा अवधि पूरा भएपछि मात्रै सवारी साधन लैजान पाइने व्यवस्था प्रस्ताव गरिएको छ ।
मस्यौदामा प्रस्ताव गरिएअनुसार आर्थिक हिनामिना गरेको प्रमाणित भई कारबाहीमा गरेका कर्मचारीहरुलाई १९ वटै जीवन बीमा कम्पनीहरुले नियुक्ति दिन पाउने छैनन् । त्यस्तै, कुनै कर्मचारीले पुरानो कम्पनीमा तिर्न बुझाउन कुनै रकम बाँकी रहेछ भने नयाँ कम्पनीले तिर्नु बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।
पछिल्लो समय जीवन बीमा कम्पनीहरुमा कर्मचारीहरुको चलखेल निकै बढेपछि जीवन बीमक संघले आचारसंहिताद्वारा स्वःनियमन गर्न खोजेको हो । आचारसंहिता उल्लंघन गर्नेमाथि कस्तो कारवाही गर्ने भन्ने सम्बन्धमा पनि छलफल भइरहेको संघले जनाएको छ । यसअघि निर्जीवन बीमा क्षेत्रमा पनि कम्पनी र कर्मचारी आचारसंहिताको सीमाभित्र बाँधिएका छन् ।
जीवन बीमा कम्पनीहरुमा आचारसंहिताले बाँधिने
आर्थीकसंसार संवाददाता५ असोज, २०७७
५ असोज, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान