News Portal

  • हिमालयनभन्दा नेपाल रिले गर्यो दोब्बर बढी लगानी, कुन क्षेत्रमा कति ?

    आर्थीकसंसार संवाददाता१३ भदौ, २०७९
    ३४७ पटक
    १३ भदौ, २०७९

    काठमाडौं । पुनर्बीमा कम्पनीहरुले एक वर्षको अवधिमा २६ अर्ब १८ करोड ७३ लाख रुपैयाँ बराबरको लगानी गरेका छन् । बीमा समितिका अनुसार नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रिइन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा विभिन्न क्षेत्रमा सो मात्राको लगानी गरेका हुन् ।
    जसमध्ये सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्सले गरेको छ । कम्पनीले गत आवमा विभिन्न क्षेत्रमा गरी कूल १८ अर्ब ७४ करोड रुपैयाँ बराबरको लगानी गरेको छ । जुन हिमालयन रिको तुलनामा १५२ प्रतिशत बढी हो ।
    समिक्षा अवधिमा हिमालयन रिले भने ७ अर्ब ४४ करोड ४० लाख रुपैयाँ बराबरको लगानी गरेको समितिले जनाएको छ ।
    नेपाल रिले विभिन्न ९ क्षेत्रमा लगानी गरेको छ । कम्पनीले नेपाल सरकारको ऋणपत्रमा ३ करोड, क वर्गका बैंकको मुद्दती निक्षेपमा १४ अर्ब २ करोड र सूचीकृत कम्पनीको साधारण सेयरमा ९ करोड ४७ लाख रुपैयाँ लगानी गरेको छ ।
    त्यसैगरी, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर तथा ऋणपत्रमा १ अर्ब ७३ करोड र म्युचुअल फण्ड र नागरिक लगानी कोषमा ९ करोड ५१ लाख रुपैयाँ बराबरको लगानी गरेको छ । साथै, कम्पनीले ख वर्गका संस्थाको मुद्दती निक्षेपमा १ अर्ब ४८ करोड रुपैयाँ बराबरको लगानी गरेको छ ।
    यता हिमालयन रिले भने जम्मा दुई वटा क्षेत्रमा लगानी गरेको छ । कम्पनीले क वर्गको बैंकको मुद्दती निक्षेप र विभिन्न वित्तीय संस्थाको अग्राधिकार सेयर तथा ऋणपत्रमा लगानी गरेको छ । जसमध्ये मुद्दती निक्षेपमा ६ अर्ब ८५ करोड रुपैयाँ र अग्राधिकार सेयरमा ५८ करोड ९० लाख रुपैयाँ लगानी गरेको समितिले जानकारी गराएको छ ।
    नियामक निकाय बीमा समितिले कम्पनीहरुलाई विभिन्न क्षेत्रमा लगानी गर्न बाटो खुला गरेको छ । तर समितिले छुट्टा छुट्टै ठाउँमा लगानी गर्नको लागि छुट्टै अर्थात न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ४० प्रतिशतसम्मको सीमा तोकिदिएको छ । हिमालयन रि नयाँ पुनर्बीमा कम्पनी हो । हालसम्म कम्पनी दोश्रो बजारमा सूचीकृत भएको छैन ।

    प्रतिकृया दिनुहोस्