News Portal

  • यूनियन लाइफका एक मात्र गोल्ड स्टार बिमलको एमडीआरटी ग्लोबल कन्फ्रेन्ससम्मको यात्रा

    आर्थीकसंसार संवाददाता४ भदौ, २०७९
    ५०५ पटक
    ४ भदौ, २०७९

    काठमाडौं । विभिन्न क्षेत्रमा भैपरि आउने आर्थिक संकट तथा जोखिमलाई कम गर्न बीमाले खेलेको भूमिकाप्रति हर व्यक्ति आकर्षित हुनु स्वभाविक नै हो । समस्या र जोखिमका बाबजुत पनि व्यवसाय गर्न प्रेरणा मिल्ने एउटा स्रोत समेत बनेको छ बीमा । व्यक्ति र व्यवसायको आधारमा खरिद गर्न सकिने थुप्रै पोलिसीहरु रहेको छ । बीमा कम्पनीले सार्वजनिक गरेका तीनै बीमा पोलिसीलाई जनमानसमा पुर्याउने काम भने अभिकर्ताले नै गर्दै आइरहेका छन् । यसैबीच करिब ११ वर्षदेखि बीमाको ज्ञान र महत्वलाई बुझाउँदै पोलिसी वितरण गर्दै आएका छन् नेपालगन्जका अभिकर्ता बिमल ढकाल ।
    बीमा क्षेत्रमा सक्रिय बिमल एक सफल र सक्षम अभिकर्ताको रुपमा स्थापित छन् । उनले यो क्षेत्रमा करिब ११ वर्ष विताइसके । नेशनल लाइफ इन्स्योरेन्समा ६ वर्ष अभिकर्ताको रुपमा सक्रिय रहेका उनी हाल यूनियन लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत छन् । अभिकर्ता पेशा प्रतिको लगावले उनलाई देशभित्र मात्र नभई अष्ट्रेलियासम्म डोर्याएको छ । हाल उनी अमेरिकी संस्था मिलियन डलर राउन्ड टेबल (एमडीआरटी) ले आयोजना गरेको एमडीआरटी ग्लोबल कन्फ्रेन्समा सहभागी हुन अष्ट्रेलिया पुगेका छन् । यूनियन लाइफ इन्स्योरेन्समा अभिकर्ता बनेको ५ वर्षमा नै उनी लगातार ४ पटक एमडीआरटी बनिसकेका छन् ।

    दिर्घकालिन महत्व बुझेसँगै अभिकर्ता पेशामा संलग्न
    नेपालमा बीमा फष्टाउँदै गर्दाखेरी नै उनले बीमाको महत्व बारे अध्ययन गरेका थिए । सोहि अनुरुप उनले आफूलाई भैपरि आउने आर्थिक समस्याबाट जोगाउन आफ्नै बीमा गरे । बीमाबाट पाउने सुविधा उनले आफू मात्र लिन चाहेनन् । नाता आफन्त र साथीभाइलाई पनि बीमा गराई आर्थिक जोखिबाट टाँढा राख्ने सोच बनाए । तर बीमा क्षेत्रको यति गहिराईसम्म पुग्छु भनेर उनले सोचेका थिएनन् । हाल उनलाई यहि पेशाले मान सम्मानसँगै आर्थिक रुपमा समेत सबल बनाएको उनको भनाई छ । यो अवधिमा उनले थुप्रै बीमा पोलिसी बिक्रि गरि धेरैको घरपरिवारलाई भविष्यमा भैपरिआउने आर्थिक जोखिमबाट जोगाउन सफल भएका छन् । कतिपय साथीभाईको व्यवसायमा समेत उनले बीमा बारे दिएको जानकारीले जोखिम मोल्न सक्षम बनेको उनी बताउँछन् । उनको विश्वास र भरोसाकै भरमा उनको साथीले ५ करोड सम्मको बीमा गरेको उनको भनाई ।

    उनले अभिकर्ता पेशा सुरु गर्दै गर्दा अहिलेको जस्तो जटिल अवस्था भने थिएन । सानो संख्यामा बीमा कम्पनीहरु भएको हुँदा बीमितलाई सजिलै बुझाउन सकिन्थ्यो, पोलिसीको बारेमा जानकारी दिन सकिन्थ्यो । जब नयाँ नयाँ कम्पनीहरु थपिदै गए बीमाको आकार पनि बढ्दै गयो । यति मात्र नभई कम्पनीहरुले आफ्नो टार्गेट पुरा गर्नकै लागि अस्वस्थ प्रतिष्पर्धा मार्फत बीमा पोलिसी बिक्रि गर्न थाले । जसले गर्दा आम मानिसमा बीमा प्रति हेर्ने दृष्टिकोण समेत नकारात्मक हुँदै गएको बिमल बताउँछन् । नेपालमा अझै पनि वास्तविक बीमा भनेको के हो भन्ने बारे नै मानिसहरु अलमलमा रहेका छन् । बीमा किन गर्ने र यसको फाइदा के छ भन्नेमा अझै प्रष्ट हुन सकेका छैनन् । तसर्थ आफ्नो आम्दानीको केहि अंश बचत गर्दै बीमा गर्दा भविष्य सुनिश्चित हुने कुरालाई उनी प्रत्येक आफ्ना बीमितलाई खुलेर सम्झाउँछन् ।
    नेपालमा ८ प्रतिशत बीमितले मात्रै आफ्नो योग्यता अनुसारको बीमा गरेका छन् । यो अवस्था आउनुमा भने अभिकर्ताको हात रहेको बिमल बताउँछन् । साथै ४ प्रतिशत जति बीमितले मात्रै बीमाको महत्व बुझेर कम्पनीसम्म पुगी बीमा गराएका छन् । यो अवस्थालाई हेर्दा नेपालको बीमा बजार पूरै खाली रहेको उनी बताउँछन् ।

    लगातार ४ पटकसम्म एमडीआरटी, २०२२ को एमडीआरटी ग्लोबल कन्फ्रेन्समा लिडरको भूमिका
    उनको स्पष्ट बोलीकै कारण उनले ५ वर्षको अवधिमा यूनियन लाइफमा बार्षिक ६० करोडभन्दा माथि प्रिमियम संकलन गर्दै आएका छन् । १५ करोडभन्दा माथिको प्रिमियम संकलन गर्ने अभिकर्तालाई गोल्ड स्टारकोमा राखिन्छ । तसर्थ उनी यूनियन लाइफका गोल स्टार समेत हुन् । उनले २०७६/७७ मा सेल्स टिम विद्याबाट नेपाल टप गरेका उनी गोल्ड स्टार बनेका थिए । २०७७/७८ मा भने उनी टिम विजनेशबाट टप हुन पुगे । साथै २०७८/७९ मा समेत उनले टिम विजनेशबाट नेपाल टप गर्न सफल भएका थिए । नेपालगन्ज शाखाबाटै थुप्रै उपलब्धि हाँसिल गर्न सफल उनले अष्ट्रेलियाको सिडनीमा सञ्चालन हुने २०२२ को एमडीआरटी ग्लोबल कन्फ्रेन्समा नेतृत्व गर्ने अवसर समेत प्राप्त गरेका छन् ।
    उनले हाल देशभरमा ५ सय जना अभिकर्तालाई नेतृत्व गर्दै आएका छन् । जसमा बर्षेनि २ सय जनाभन्दा बढीले एजेन्सी म्यानेजरको टार्गेट पूरा गर्दै आएका छन् । साथै ५ वर्षको अवधिमा उनकै नेतृत्वमा रहेका ५० भन्दाबढी अभिकर्ताले गाडी समेत प्राप्त गरिसकेका छन् । आगामी दिनमा अभिकर्ता पेशाबाटै बार्षिक एक करोडसम्म सरकारलाई कर तिर्ने योजनामा रहेको उनको भनाई छ ।

    विभिन्न संघसंस्थामा आवद्ध
    अभिकर्ता पेशामा सफल बिमल सामाजिक संघसस्थामा समेत उत्तिकै सक्रिय छन् । वास्तवमा लाइन्स क्लवका जन्मदाता मेलभिट जोनको जीवनीले नै उनलाई अभिकर्ता पेशामा लाग्न प्रेरित गरेको उनी सुनाउँछन् । यहि जीवनी पढेर अभिकर्ता पेशा अंगालेका उनी हाल थुप्रै संघसंस्थामा आवद्ध छन् । जसमा लाइन्स क्लव अफ नेपालगन्जका प्रेसिडेन्टको रुपमा काम गर्दै आएका छन् । साथै सामाजिक कार्यलाई जीवन्त राख्न केहि सप्लायर्स कम्पनीहरु समेत सञ्चालन गर्दै आइरहेका छन् । साथै १३ वटा जील्लामा फैलिएको कान्तिपुर कलेक्सनको प्रोपाइटर समेत रहेका छन् । साथै नेपालगञ्जमा सञ्चालित नमस्ते सेभिङ एण्ड कोअप्रेटिभ लि.को बोर्ड अफ डाइरेक्टर, एकाउटेन र कोअर्डिनेटर समेत रहेका छन् ।

    सफल अभिकर्तामा कलासँगै योजना पनि चाहिन्छ
    छोटो समयमै ठूलो सफलता हाँसलि गर्न सफल बिमलका अनुसार सफल अभिकर्ता बन्न कलासँगै योजना पनि चाहिन्छ । कुनै पनि बीमितलाई बीमा गर्न प्रस्ताव गर्दै गर्दा बीमितको रोजाइलाई पनि ध्यान दिनुपर्ने हुन्छ । यसका साथै उमेर अनुसारको पोलिसी दिएमा बीमितले सोचे अनुरुपको प्रतिफल हात पर्ने उनको भनाई छ । जसले अभिकर्ताप्रतिको विश्वास झन बढ्दै जाने उनी बताउँछन् ।

    पछिल्लो समय नेपालमा फोर्सफुल्ली बीमा गराउने प्रचलन बढ्दो छ । यदि अभिकर्ताले फोर्सफुल्ली बीमा गराउँदै गर्दा बीमितको शिरको भार अनुसारको बीमा गराएमा सफल हुने बिमल बताउँछन् ।

    नेपालमा बीमा अझै सोचेजस्तो फष्टाउन सकेको अवस्था भने छैन । सतही अवस्थामा पुगेको बीमा औद्योगिक क्षेत्रदेखि सेवाक्षेत्र लगाएत थुप्रै क्षेत्रमा फष्टाउन बाँकी छ । अभिकर्ता पेशामा सम्भावना अधिक भएको हुँदा नव आगन्तुक अभिकर्ताले आफै बीमित भएर यो पेशामा प्रवेश गर्नु उत्तम मान्छन् उनी । अभिकर्ता आफैले सुविधा लिइसकेपछि त्यसबारे अझ स्पष्ट बोल्न र अरुलाई बुझाउन सकिन्छ । सुरुमा आफै सुरक्षित नभई अरुको घरपरिवारलाई सुरक्षित गर्न नसकिने उनको भनाई छ ।

    प्रतिकृया दिनुहोस्