News Portal

  • एनएलजीले गर्यो १ अर्ब ९० करोड बीमा दाबी भुक्तानी, नाफा १४ प्रतिशतले वृद्धि

    आर्थीकसंसार संवाददाता३१ साउन, २०७९
    ४०२ पटक
    ३१ साउन, २०७९

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ मा २३ करोड ४५ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्ष कम्पनीले २० करोड ५६ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
    कम्पनीको नाफा करिब १४ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको प्रतिसेयर आम्दानी १७.६८ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ २१३ रुपैयाँ रहेको छ ।
    गत वर्ष कम्पनीले २ अर्ब ३७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा २५ करोड रुपैयाँले बढि हो । कम्पनीले करिब १२ प्रतिशतले बीमा शुल्क वृद्धि गरेको छ ।
    सोही अवधिमा कम्पनीले १ अर्ब ९० करोड बीमा दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष पनि कम्पनीले १ अर्ब ३१ करोड रुपैयाँ दाबी भुक्तानी गरेको थियो । गत वर्ष कम्पनीले ११ हजार ३४५ बीमितलाई दाबी भुक्तानी गरेको थियो ।
    बीमा नियमको परिचालना र बीमितको सेवालाई जोड दिँदै बीमा दाबी भुक्तानीलाई कम्पनीले प्राथमिकतामा राखेको छ । कम्पनीले बीमा दाबीहरुको व्यवस्थापन छिटो, छरितो, प्रभावकारी र विश्वसनीय बनाउने रणनीति लिएको जनाएको छ । कम्पनीले आफूलाई ग्राहकको योद्धाको रुपमा उभ्याउँदै बीमा दाबी भुक्तानी विश्वसनीय बनाउन महत्वपूर्ण भूमिका खेलेको देखिएको छ ।
    कम्पनीले गत वर्ष कुल १ अर्ब ८३ करोड आय गरेकोमा १ अर्ब ५६ करोड रुपैयाँ खर्च गरेको छ ।चुक्ता पुँजी १ अर्ब ३२ करोड रुपैयाँ रहेको एनएलजी इन्स्योरेन्सको बीमा कोषमा १ अर्ब १४ करोड र जगेडा कोषमा ३१ करोड रुपैयाँ रहेको छ ।

    प्रतिकृया दिनुहोस्