
काठमाडौं । वाणिज्य बैंकहरुमध्ये माछापुच्छ्रे बैंकले पहिलोपटक गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १०.४० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
बैंकले ७.०३ प्रतिशत बोनस सेयर र करसहित ३.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव असोज १ गते बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो ।
समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत दिई बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।
बैंकले गत आर्थिक वर्षमा १ अर्ब २६ करोड रुपैयाँ खुद नाफा गरेको थियो । सो अवधिमा बैंकले प्रति सेयर आम्दानी १४.९६ रुपैयाँ कायम गरेको थियो ।
हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । प्रस्तावित ७.०३ प्रतिशत बोनस सेयर वितरणपश्चात बैंकको चुक्ता पुँजी ९ अर्ब रुपैयाँ नाघ्ने छ । दोस्रो बजारमा पछिल्लो कारोबारमा बैंकको सेयर मूल्य प्रतिकित्ता २ सय ३४ रुपैयाँ रहेको छ ।