News Portal

  • कर्मचारी सञ्चयकोष ५८ वर्ष पूरा गरी ५९औं वर्षमा प्रवेश

    छ लाख सञ्चयकर्ताको साढे तीन खर्ब पुँजी संकलन

    आर्थिकसंसार संवाददाता३१ भदौ, २०७७
    ११०७ पटक
    ३१ भदौ, २०७७

    काठमाडौं । कर्मचारी सञ्चय कोष ५८ वर्ष पूरा गरी ५९औं वर्षमा प्रवेश गरेको छ । ५९औं वार्षिकोत्सवको अवसरमा कोषले अनलाईन माध्यमबाट सापटीको साँवा ब्याज भुक्तानी तथा किस्ता तिर्न सकिने व्यवस्था सुरु गरेको छ ।
    २०१९ साल भदौं ३१ गते स्थापना भएको कोषमा छ लाख भन्दा बढी सञ्चयकता आबद्ध भएका छन् । कोषले करिब साढे तीन खर्बको पुँजी परिचालन गर्दै आएको छ । कोषले आफ्ना कर्मचारीहरुलाई स्वास्थ्य बीमा सुविधा आफैले सञ्चालन गर्दै आएको छ । २०७५ मंसिर १ गतेदेखि राष्ट्रिय बीमा कम्पनीसँग सम्झौता गरी छ लाखभन्दा बढी निजामति कर्मचारीहरुलाई बीमा सुविधा दिएकोमा दावी भुक्तानी प्रक्रिया झन्झटिलो भएको भन्दै आफैले बीमा सेवा प्रवाह गर्दै आएको छ ।
    ५९औं वार्षिकोत्सवको अवसरमा कोषले नेपालकै सबैभन्दा आधुनिक डाटा सेन्टरको शुभारम्भ गरेको जनाएको छ । निजामति कर्मचारीहरुलाई विशेष सुविधा दिन केन्द्रित रहेको कोषले आफ्ना सञ्चयकर्तालाई विभिन्न प्रयोजनको लागि सापटी दिने, आवास सुविधा दिने, बीमा सुविधा दिनेजस्ता काम गर्दै आएको छ । सञ्चय कोष नेपालका सबैभन्दा ठूलो कोष भएको वित्तीय संस्थासमेत हो । ठूला बैंक, राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सलाई ठूलो पुँजी आवश्यक पर्दा कोषले नै योगदान गर्दै आएको छ । कोषका राजधानीमा आधा दर्जनभन्दा बढी व्यापारिक भवनहरु निर्माण गरी व्यवसाय सञ्चालन गर्दै आएको छ । सुन्धाराको काठमाडौं मल, ठमेल, पुल्चोक, लगनखेललगायतका स्थानमा कोषका ठूला व्यापारिक भवनहरु रहेका छन् ।
    त्यस्तै कोषले आगामी दिनमा सातवटै प्रदेशमा प्रदेश कार्यालयमार्फत सेवा प्रवाह गर्ने प्रशासक तुलसीप्रसाद गौतमले बताए । वार्षिकोत्सवको दिन सञ्चयकोषका सबै कार्यालयहरु विदा दिइएको छ ।

    प्रतिकृया दिनुहोस्