News Portal

  • ‘राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले बैंकहरुको नाफा घटाउने छ’: अध्यक्ष पवन गोल्यान

    आर्थीकसंसार संवाददाता९ साउन, २०७९
    ४८४ पटक
    ९ साउन, २०७९

    काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले आर्थिक वर्ष २०७९/८० को लागि राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले बैंकहरुको नाफा घटाउने बताएका छन् ।
    अध्यक्ष गोल्यानले मौद्रिक नीतिले अनिवार्य नगद अनुपात (सिआरआर) लाई ३ प्रतिशतबाट १ प्रतिशत बढाउँदा बैंकहरुको अर्बौं रकम बिना प्रतिफल राष्ट्र बैंकमा थुप्रिँदा बैंकहरुको मुनाफा घटाउने अवस्था देखिएको बताएका हुन् ।  मौद्रिक नीतिको यो व्यवस्थाले बैंकहरुको लागत बढ्ने उनको भनाइ छ ।
    अध्यक्ष गोल्यानले बैंकहरुमा लागत नै १० प्रतिशत बढीले लाग्ने भन्दै यो भन्दा माथि गए बैंकिङ क्षेत्र संकटमा पर्ने बताए । ‘बैंकको शेयरहोल्डर र लगानीकर्ताहरुलाई १० देखि १५ प्रतिशत मुनाफा दिनुपर्ने भएपनि आगामी दिनमा बैंकहरुले त्यो दिन सक्ने अवस्था छैन,’ उनले भने ।
    यस्तै, उनले चालु आर्थिक वर्षमा रेमिट्यान्स र वैदेशिक लगानी आउन नसके १२ प्रतिशतको कर्जा विस्तार लक्ष्य पनि पूरा हुन नसक्ने दाबी गरे । ‘गत वर्ष १९ प्रतिशत कर्जा बिस्तारको लक्ष्य राखेपनि पूरा भएन, यो वर्ष पनि त्यही अवस्था देखिएको छ, उत्पादनशील उद्योग र अन्य उद्योगमा फरक ब्याजदर व्यवस्था गर्नु राम्रो देखिएपनि यो व्यवस्थाले बैंकलाई भार थप्ने देखिएको छ,’ उनले भने ।
    उनले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरु जोगाएर नीति ल्याउन चुकेको टिप्पणी गरे । अध्यक्ष गोल्यानले घरजग्गा कारोबारको लागि कर्जामा कसिलो बनाउनु सकारात्मक रहेकोले घर जग्गा किनबेचको लागि बैंकहरुबाट कर्जा जानु नहुने बताए ।

    प्रतिकृया दिनुहोस्