
काठमाडौं । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स पठाउनेलाई विभिन्न सेवा तथा सुविधा दिने बताएकाे छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेका सो कुरा बताएका हुन् ।
अधिकारीले विप्रेषण औपचारिक माध्यमबाट स्वदेश भित्र्याएको प्रमाणका आधारमा विभिन्न सेवा तथा सुविधा उपलब्ध हुने व्यवस्था गर्न नेपाल सरकारका सम्बन्धित निकायहरुसँग समन्वय गर्ने जनाए ।
नेपालीहरुले विदेशी मुद्रा सटही सुविधा प्राप्त गर्न अनिवार्य रुपमा बैंक खाता हुनुपर्ने बताएको छ । यस्तै, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले बाह्य मुलुकबाट विदेशी मुद्रामा ऋण परिचालन गर्ने कार्यलाई समेत सहजीकरण गर्ने जनाएकाे छ ।
राष्ट्र बैंकले जारी गरेकाे माैद्रिक नीति अनुसार मुद्रामा ऋण परिचालन सहजीकरण गर्नको लागि विदेशी विनिमय जोखिम व्यवस्थापन गर्ने प्रयोजनका लागि डेरिभेटिभ्स सम्बन्धी विद्यमान नीतिगत व्यवस्थामा पुनरावलोकन गरिने छ ।
विदेशी लगानी आप्रवाहलाई थप स्वचालित अटोमेटिक रुट गर्न, विदेशी लगानीको समर्थन, शाखा कार्यालयको नाफा रिप्याट्रिएसन तथा अन्य देशमा हुने रिप्याट्रिएसन लगायतका विषयमा सहजीकरण गर्न विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ मा आवश्यक संशोधन गर्ने राष्ट्र बैंकले जनाएकाे छ ।
साथै, नेपाल भित्रिने विप्रेषण आप्रवाहको दायरा फराकिलो पार्न नेपाली नागरिक, विदेशी नागरिक र विदेशस्थित संघ/संस्था आदि समेतबाट नेपाली नागरिक र संघ/संस्था समेतले विप्रेषण रकम प्राप्त गर्न सहज हुनेगरी विप्रेषणसम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने राष्ट्र बैंकले जनाएकाे छ ।