News Portal

  • राष्ट्रिय वाणिज्य बैंकले आयल निगमलाई ३% ब्याजमा दियो ३ अर्ब ऋण, सरकार जमानी

    आर्थीकसंसार संवाददाता१६ असार, २०७९
    ६९३ पटक
    १६ असार, २०७९

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आयल निगमलाई ३ प्रतिशत ब्याजदरमा ३ अर्ब रुपैयाँ ऋण दिएको छ । बैंकले अहिले बजारमा चलेको भन्दा धेरै कम ब्याजदरमा आयल निगमलाई कर्जा लगानी गरेकाे हाे ।
    निगमले राष्ट्रिय वाणिज्य बैंकबाट ३ अर्ब रुपैयाँ ऋण लिएर टेकुको २९ रोपनी जग्गा धितोमा राखेको हो । भारतबाट महँगोमा तेल किनेर नेपालमा सस्तोमा बेचिरहेको नेपाल आयल निगम निरन्तर घाटामा गएपछि बैंकहरुबाट ऋण लिन बाध्य भएको हो ।
    अर्थमन्त्रालय स्रोतका अनुसार ३ प्रतिशत ब्याजमा ३ अर्ब रुपैयाँ ऋण दिने विषय सहमति भइसकेको छ । ‘मंगलबार अर्थमन्त्रालयमा ३ प्रतिशत ब्याजमा ऋण दिने विषयमा सहमति भइसकेको छ, बुधबार नै पैसा निकासा गर्ने निर्णय पनि भइसकेको छ, बैंकले नमाने पनि मन्त्रालयबँट दबाब दिएपछि बैंक ३ प्रतिशत ब्याजमा कर्जा दिन तयार भएको हो,’ स्रोतले भन्यो ।
    ऋणमा सरकार जमानी बसेको छ । भोलि निगमले ऋण तिर्न नसकेमा सरकारले सो विषयकाे जवाफदेही बन्नु पर्ने हुन्छ । उसो त राष्ट्रिय वाणिज्य पनि पूर्ण सरकारी स्वामित्वको बैंक हो ।
    राष्ट्रिय वाणिज्य बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) दिवेश प्रसाद लोहनीले सरकारले निर्णय गरेपछि सोही अनुसार कर्जा र ब्याज पनि दिनु पर्ने बताए । तर, ३ प्रतिशत ब्याजको विषयमा भने आफुलाई जानकारी नभएको उनको भनाइ छ ।
    ‘कति कर्जामा कति प्रतिशत ब्याज दिने भन्ने विषय कर्जा समितिले नै निर्णय गर्छ, यस विषयमा मलाई अहिलेसम्म जानकारी छैन,’ डीसीईओ लोहनीले भने ।
    अर्थमन्त्रालय स्रोतका अनुसार सरकारले निगमको ५ अर्ब रुपैयाँ पनि फिर्ता गरेको छ । यसअघि निगम नाफामा रहेको समयमा सरकारले निगमबाट ५ अर्ब रुपैयाँ लिएको थियो । अहिले निगमले सो रकम फिर्ता मागेपछि अर्थ मन्त्रालयले पनि फिर्ता गरेको हो ।

    प्रतिकृया दिनुहोस्