
काठमाडौं । अब कामना सेवा विकास बैंकका ग्राहकहरुले सामाजिक सञ्जालबाट घरमा नै बसेर खाता खोल्नेदेखि बैंक स्टेटमेन्ट हेर्नेजस्ता कार्यहरु सजिलै गर्न सक्ने भएका छन् ।
ग्राहकहरुले भाइबर वा फेसबुक मेसेन्जरजस्ता सामाजिक सञ्जालको माध्यमद्वारा केवाइसी अपडेट गर्ने, चेक बुक तथा डेविट कार्ड अनुरोध गर्ने, स्टेटमेन्ट हेर्ने, साथै कर्जाको हालसम्मको बक्यौता थाहा पाउनेजस्ता कार्यहरु सजिलै गर्न सक्ने भएका हुन् ।
बैंकका अध्यक्ष सुदिप आचार्यद्वारा फेसबुक लाईभका माध्यमबाट शनिबार यो प्रविधिमा आधारितक केएसबिबिएल सोसल मिडिया बैंकिङ प्लेटफर्मको शुभारम्भ गरिएको हो ।
भाईबरको माध्यमबाट यी सुविधाहरु प्राप्त गर्न ग्राहक मानुभावहरुले बैंकले प्रदान गरेको क्युआर कोड स्क्यान गर्नुपर्ने छ भने फेसबुकको माध्यमबाट यी सुविधाहरु प्राप्त गर्नको लागि बैंकको फेसबुक पेज सर्च गरी मेसेज पठाउनु पर्ने हुन्छ ।
कोभिड–१९ को महामारीकोबीच सोसल मिडिया बैंकिङ सेवा सुरुवात गरी बैंकले आफ्ना ग्राहक महानुभावहरुलाई थप सुविधा प्रदान गरी बैंकसँग सम्बन्धित सम्पूर्ण सेवाहरु घरमै बसी लिन सकिने व्यवस्था गरेकाले यसबाट ग्राहक महानुभावहरु लाभान्वित हुने कुरामा बैंक विश्वस्त रहेको बैंकका अध्यक्षले बताए ।