News Portal

  • युनियन लाइफ इन्स्योरेन्सको नयाँ ‘म्यादी जीवन’ बीमा योजना सार्वजनिक

    आर्थिकसंसार संवाददाता
    १७३७ पटक

    काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘जीवन दीप’ बीमा योजना सार्वजनिक गरेको छ । यो ‘जीवन दीप’ नामक नयाँ ‘म्यादी जीवन’ बीमा योजना बुधवार सार्वजनिक गरेको हो । कम्पनीले कोरोना महामारीकै बीचमा पनि म्यादी जीवन बीमा योजना सार्वजनिक गरेको हो ।
    ग्राहकहरुको हितलाई मध्यनजर गर्दै कम्पनीले न्युन बीमा शुल्कमा अधिक बीमाङ्कको लाभ प्राप्त हुने गरी नविनतम प्रकारको ‘म्यादी जीवन’ बीमा योजना ल्याइएको र यसबाट ग्राहकहरुले बृहत लाभ लिन सकिने योजना ल्याएको कम्पनीले जानकारी दिएको छ । उक्त बीमा योजनाअन्तर्गत प्राकृतिक रुपमा बीमा गर्नेको मृत्यु भएमा बीमाङ्क रकम, दुर्घटनाबाट मृत्यु भएमा करारमा उल्लेखित थप बीमाङ्क र दुर्घटनाबाट पूर्ण अंगभंग वा शारीरिक अशक्तता भएमा बीमालेखको अवधिसम्म बीमाशुल्क छुट र नियमित रुपमा मासिक आय सुविधा समेत उपलब्ध गराइने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।
    यो नयाँ ‘जीवन दीप’ बीमा योजना नविन विशेषता भएको, न्युन शुल्कमा अधिक बीमाङ्क रकमको बीमा गर्न सकिने र व्यक्तिगत तथा संस्थागत रुपमा समेत लिन सकिने भएकाले यो योजना आम मानिसहरुको रोजाईमा पर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले दाबी गरेका छन् । विशेषगरी कर्पाेरेट, सहकारी, उद्योग प्रतिष्ठान, यातायात, संघ संस्था, कलेज, स्कुल, असंगठित क्षेत्र लगायतका व्यक्तिहरुको लागि उपयोगी बीमा योजना रहेको सिईओ कर्णको भनाइ छ ।
    व्यक्तिगत तथा संस्थागत रुपमा समेत बीमा गर्ने सुविधा रहेको उक्त बीमा योजनाअन्तर्गत न्युनतम तीन लाख बीमाङ्क र अधिकतम आयस्रोतको आधारमा आवश्यकताअनुसार बीमाङ्क निर्धारण गरी बीमा योजना लिन सकिने सुविधा रहेको छ । उक्त बीमा योजना १६ वर्षदेखि ६० वर्ष उमेर समूहका व्यक्तिहरुले ५ वर्ष देखि २५ वर्षसम्मको अवधिका लागि लिन पाउने व्यवस्था गरिएको छ । वार्षिक रुपमा बीमाशुल्क भुक्तानी गर्न सकिने भएकाले उक्त बीमा योजना बीमा गर्न चाहनेहरुको लागि उपयुक्त बीमा योजना भएको कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्