News Portal

  • नेपाल वेयरहाउजिङ्ग कम्पनी र नेपाल इन्फ्रास्टक्चर बैंकबीचमा शेयर लगानी सम्झौता

    आर्थीकसंसार संवाददाता१५ वैशाख, २०७९
    ७७५ पटक
    १५ वैशाख, २०७९

    काठमाडौं । कम्पनी ऐन, २०६३ बमोजिम २०७५ सालमा संस्थापित नेपाल वेयरहाउजिड्ग कम्पनी लिमिटेडले वैज्ञानिक खाद्यान्न भण्डारण गृह, वोलकवोलको माध्यमबाट खाद्यान्न किनबेच र खाद्यान्नको परिमाणलाई धितो मानेर वेयरहाउस रसिदको आधारमा बैंक तथा वित्तीय संस्थाहरुमार्फत ऋण प्रवाह हुने वातावरण तथा उपयुक्त पूर्वाधार निर्माण गर्ने उद्देश्य लिएको छ । साथै नेपाल इन्फ्रास्टक्चर बैंक लि. बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अन्तर्गत पूर्वाधार विकास बैंकको रुपमा दर्ता भएको बैंकले पूर्वाधार विकासमा स्वपुँजी तथा ऋण लगानी गर्ने उद्देश्य लिएको छ ।


    यो कम्पनी संस्थापन गर्नका उद्देश्यहरुमध्येको प्रमुख उद्देश्य खाद्यान्न भण्डारण गृह निर्माण गरी सो भण्डारण गृहमा कृषकहरुले उत्पादन गरेका खाद्यान्नलाई भण्डारण गर्ने सुविधा प्रदान गर्नु रहेको छ । कृषकको आवश्यकता बमोजिमको सुरक्षित तथा बैज्ञानिक तबरको भण्डारण गृह हालसम्म सञ्चालनमा नरहेको हुँदा आफ्नो उत्पादनलाई तत्काल सस्तो मूल्यमा बजारमा बिक्री गर्नुपर्ने बाध्यता कृषकसँग रहिरहेकोछ । अर्कोतर्फ त्यही खाद्यान्न केही महिनाको छोटो अन्तरालमा महँगो मूल्यमा कृषक समेतले दैनिक उपभोगका लागि खरिद गर्नुपर्ने अवस्था छ । यो समस्याको समाधानका लागि नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले देशका तीन वटा महत्वपूर्ण स्थानहरु सुनसरी, पर्सा र कपिलवस्तुमा साइलो प्रविधिमा आधारित खाद्यान्न भण्डारण गृह निर्माण गरी कृषक, कृषि वस्तु संकलक, खाद्यान्न प्रशोधक, औधोगिक प्रतिस्ठान तथा दाना उत्पादकहरुलाई सेवा प्रदान गर्ने लक्ष्य लिएकोछ । कृषकहरुबाट उत्पादित खाद्यान्न भण्डारण गर्नका साथसाथै कृषकहरुलाई आफ्नो उत्पादनको उचित मूल्य प्राप्त हुने अवसर प्रदान गर्न कम्पनीले ती तीनवटै जिल्लामा निर्माण हुने भण्डारण गृहको परिसरमा बोलकबोलको माध्यमबाट खाद्यान्न किनबेच हुने वातावरण र पद्धत्तिलाई समेत व्यवस्थित गर्ने लक्ष्य राखेकोछ । साथै कम्पनीले कृषक तथा खाद्यान्न संकलकहरुलाई घर खर्च तथा अर्को बालीका लागि आवश्यक पर्ने पुँजीको अभाव हुन नदिन निजहरुले कम्पनीको भण्डारण गृहमा राखेका खाद्यान्नको परिमाणलाई धितो मानेर वेयरहाउस रसिदको आधारमा बैंक तथा वित्तीय संस्थाहरुमार्फत ऋण प्राप्त गर्ने उचित व्यवस्थापन गरिएको छ ।
    यस कम्पनीले सञ्चालन गर्न लागेको र निर्माण भइरहेका परियोजनाहरुको लागत रु. १३९ करोड रहेकोमा सो लगानी मध्ये रु. ९४ करोड ऋण र बाँकी स्वपुँजीबाट परिचालन गरिनेछ । यस कम्पनीको हालको पुँजी रु. २३.३७ करोड रहेकोमा शेयरधनीहरुबाट समेत गरी जम्मा रु. ५५ करोड जुटाइने छ ।
    आज भएको सम्झौता बमोजिम, कूल जारी चुक्ता पुँजी रु. ५५ करोड मध्ये नेपाल इन्फ्रास्टक्चर बैंक लि.ले यस कम्पनीमा रु. ५ करोड बराबरको स्वपुँजी लगानी गर्ने छ । अन्य लगानीकर्ताहरुबाट बाँकी हुन आउने रु. ५० करोड जम्मा भएपश्चात आगामी आर्थिक वर्ष २०७९/८० मा सार्वजिनक निष्काशनबाट कूल पुँजीको २०५ मा हुन आउने रु. १३.७५ करोड बराबरको प्राथमिक सार्वजनिक निष्काशनबाट लगानी जुटाइने छ ।

    प्रतिकृया दिनुहोस्