News Portal

  • कोरोना संक्रमण थप ९ सय ८० जनामा पुष्टि

    मृतकको संख्या २ सय ८९ पुग्यो

    आर्थिकसंसार संवाददाता२१ भदौ, २०७७
    ५२३ पटक
    २१ भदौ, २०७७

    काठमाडौं । विगत २४ घण्टाको अवधिमा देशभर महिला २ सय ९० र पुरुष ६ सय ९० गरी ९ सय ८० जनामा संक्रमण पुष्टि भएसँगै हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ४६ हजार २ सय ५७ पुगेको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा ३ सय ५४ जनासहित देशभर ९ सय ८० जना संक्रमित थपिएको र यससँगै संक्रमितको कुल संख्या ४६ हजार २ सय ५७ पुगेको जानकारी दिए ।
    यस्तै पछिल्लो २४ घण्टामा १ हजार ८ सय १४जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या २८ हजार ९ सय ४१ पुगेको छ । गौतमका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार २ सय १ र होम आइसोलेशनमा ७ हजार ८ सय २६ जना रहेका छन् ।
    यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २८९ पुगेको छ । आइतबार मृत्यु हुनेमा २ महिला र ७ जना पुरुष रहेका छन् । काठमाडौंमा मात्रै ३ जना संक्रमितको मृत्यु भएको छ । काठमाडौंमा ७४, ६८ र ८५ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता गौतमले बताए । गौतमले उपत्यकामा थप ३५४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।
    त्यस्तै मोरङमा ४५, पर्सामा ७७, धनुषामा ३५ र चितवनमा ७० वर्षीय पुरुषको मृत्यु भएको हो । यसैगरी मोरङमा ६४ र झापामा ४५ वर्षीया महिलाको मृत्यु भएको उनले बताए ।
    हाल प्रदेश नम्बर १ मा ८ सय ७१, प्रदेश नम्बर २ मा ५ सय २८, बागमती प्रदेशमा ४ हजार ८ सय ७७ र गण्डकी प्रदेशमा ७ सय ८७ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ९ सय ११, कर्णाली प्रदेशमा ३ सय ७७ र सुदूरपश्चिम प्रदेशमा ८ सय ५० गरी देशभरी संस्थागत आइसोलेसनमा ९ हजार २ सय १ जना संक्रमित संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् ।
    प्रदेश नम्बर २ मा ३ हजार ५ सय, बागमती प्रदेशमा २ हजार ३ सय ३६ र गण्डकी प्रदेशमा १ सय जना संक्रमित होम आइसोलेसनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ९ सय ७८, कर्णाली प्रदेशमा ४३ र सुदूरपश्चिम प्रदेशमा १ सय २६ गरी देशभरी ७ हजार ८ सय २६ संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
    आइसियुमा प्रदेश नम्बर १ मा ९, प्रदेश नम्बर २ मा २८, बागमती प्रदेशमा १ सय ९, गण्डकी प्रदेशमा ५, प्रदेश नम्बर ५ मा २० र कर्णाली प्रदेशमा ३ जना गरी देशभरी १ सय ७४ जना उपचाररत रहेका छन् । यस्तै भेन्टिलेटरमा प्रदेश नम्बर १ मा ३, प्रदेश नम्बर २ मा २१ र प्रदेश नम्बर ५ मा ३ गरी देशभरी २७ जना संक्रमित उपचाररत रहेका छन् ।
    हालसम्म प्रदेश नम्बर १ मा २ हजार ४ सय ५८, प्रदेश नम्बर २ मा ८ हजार १ सय २७, बागमती प्रदेशमा ३ हजार ६ सय ५९ र गण्डकी प्रदेशमा १ हजार ८ सय ५ जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ५ हजार ३ सय ५५, कर्णाली प्रदेशमा २ हजार २ सय ७९ र सुदूरपश्चिम प्रदेशमा ५ हजार २ सय ५८ गरी देशभरी आजसम्म २८ हजार ९ सय ४१ जना डिस्चार्ज भएको कुरा गौतमले बताए ।

    प्रतिकृया दिनुहोस्