News Portal

  • २७औं क्यान इन्फोटेकको मुख्य प्रायोजकमा आइएमई पे

    आर्थीकसंसार संवाददाता३० चैत्र, २०७८
    ६५१ पटक
    ३० चैत्र, २०७८

    काठमाडौं । आउँदो वैशाख ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने आइएमई पे क्यान इन्फोटेक २०२२ को तयारी अन्तिम चरणमा पुगेको छ । ६ दिनसम्म सञ्चालन हुने उक्त मेलाको मुख्य प्रायोजक आइएमई ग्रुपद्वारा सञ्चालित डिजिटल वालेट आइएमई पे बन्ने भएको छ ।
    हालै राजधानी काठमाडौंमा एक विशेष पत्रकार सम्मेलनको आयोजना गरी उक्त कुराको जानकारी दिइएको हो ।
    सूचना तथा सञ्चार प्रविधि र मनोरञ्जन सम्बन्धि देशको एकमात्र प्रदर्शनी (Exhibition) को यो २७औं संस्करण यसअघि कोभिड–१९ कारण नेपाल सरकारका निर्णयहरूलाई ध्यानमा राख्दै दुईपटक स्थगित भएको थियो । विगतमा सबै प्रदेशमा आयोजना हुने प्रदर्शनी यो पटक काठमाडौंमा मात्र हुने भएको हो । विगत वर्षहरूमा आयोजना हुन नसकेका कारण पनि यो पटक सम्बन्धित सरोकारवालाहरूमा प्रदर्शनीप्रति उत्साह देखिएको छ ।


    आयोजनाले कोभिड–१९ का कारण प्रभावित सम्पूर्ण सूचना तथा सञ्चार प्रविधि व्यवसायी तथा सम्बन्धित पक्षहरूलाई राहत तथा सहयोग पुग्ने अपेक्षा क्यान महासंघले लिएको छ ।
    ब्राण्डिङ खण्डमा सूचना प्रविधि प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरूका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनी एवम् उत्पादनहरूको सहभागिता रहनेछ । फिन्टेक खण्डमा नेपालमा रहेका बैंक तथा वित्तीय एवम् सम्बन्धित संस्थाहरूको सूचना तथा सञ्चार प्रविधिको प्रयोगले प्रवाह हुने सेवा तथा यस सम्बन्धि उत्पादनहरू रहने छन् । स्टार्टअप र इन्नोभेशन खण्डमा २६ वटा स्टार्टअप र इन्नोभेशनसँग सम्बन्धित व्यक्ति वा संस्थाले आफ्ना नयाँ प्रडक्टहरू र आइडियाको प्रदर्शनी गर्ने छन् । इन्नोभेशनका निम्ति क्यान महासंघ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गरेको छ भने स्टार्टअपका निम्ति क्यान महासंघले सार्वजनिक सूचना निकालेरै सम्बन्धित व्यक्ति वा संस्थालाई सहभागी हुन आह्वान गरेर प्राप्त आवेदनहरूबाट छनौट गरिसकिएको छ । सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा भएका नयाँ तथा इन्नोभेटिभ आइडियाहरूको प्रवद्र्धन गर्ने आफ्नो योजनानुरुप क्यान महासंघले स्टार्टअप र इन्नोभेशनलाई विशेष प्राथमिकतामा राखेको हो । सूचना प्रविधिसम्बन्धी अध्ययन एवम् कार्य गरिरहेका विद्यार्थीहरूको क्षमता विकास गर्नु, उनीहरूको आइडियालाई प्लाटफर्म प्रदान गर्नु, इन्नोभेटिभ आइडियालाई व्यवसायमा बदल्न मद्दत गर्नु र व्यवहारपयोगी शिक्षामा योगदान गर्नु पनि यसको उद्देश्य हो ।
    आइसिटी एक्सेसरिज तथा प्रडक्ट लञ्चिङ खण्डमा व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्न सक्नेछन् भने अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरू र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् ।
    यस बाहेक क्यान इन्फोटेक–२०२२ मा रोबोटिक्स, इमर्जिङ्ग टेक्नोलोजि, वाइफाइ तथा इण्टरनेटलगायतका कुराहरू रहनुका साथै व्यवसायीहरूले सफ्टवेयरहरू, नेटवर्किङ र क्लाउड सोल्युशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिष्टम सोल्युशन, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्कजस्ता उत्पादनहरू प्रदर्शनी तथा बिक्रीमा राख्नेछन् ।
    त्यसैगरी, आर्टीफिसियल इन्टेलिजेन्ससम्बन्धी जानकारी, आइटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन्स, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि पनि प्रदर्शनीमा रहनेछन् ।
    प्रदर्शनीमा टिकटक प्याभिलिअन, अम्ब्रेला स्ट्रिट रहनुका साथै यो प्रर्दशनी सूचना प्रविधि सम्बन्धि चासो राख्नेहरूको लागि यस क्षेत्रमा भएका विकास तथा प्रयोगका बारेमा जानकारी लिने थलो पनि हुने विश्वास लिइएको छ । साथै, महामारी तथा बन्दाबन्दीका बेलामा देखिएको सूचना तथा सञ्चार प्रविधिको अपरिहार्यताले सम्बन्धित सम्पूर्ण सरोकारवालाहरूलाई यस क्षेत्रप्रति थप आकर्षित गरेको हामी सबैले महसुस गरेका छौं । त्यसैले पनि यो वर्षको क्यान इन्फोटेक अझ विशेष हुने हाम्रो अपेक्षा छ ।
    क्यान इन्फोटेकको यो संस्करणमा विश्वव्यापी रुपमा सहभागिता हुनसक्ने गरि caninfotech2022.com  मार्फत भर्चुअल प्रदर्शनी (Virtual Exhibition) समेतको ब्यबस्था हुन गइरहेको छ ।
    क्यान इन्फोटेक २०२२ मा विभिन्न खण्डहरू जस्तैः ब्राण्डिङ, फिन्टेक, स्टार्टअप र इन्नोभेशन, आइसिटी एक्सेसरिज तथा प्रडक्ट लञ्चिङ र इ–गभर्नेन्स मुख्य हुनेछन् ।
    अघिल्लो पटक करिब साढे ३ लाखले अवलोकन गरेको क्यान इन्फोटेकको यो संस्करणमा सोभन्दा बढी संख्यामा अवलोकनकर्ता आउने हामीले अपेक्षा गरिएको छ । यस पटकको इन्फोटेक पेपरलेस एवम् क्यासलेस प्रवेश टिकटको व्यवस्था गरिने छ, जसमा प्रवेश शुल्क जम्मा रू १ मात्र तोकिएको छ भने उक्त प्रवेश टिकटलाई आइएमई पेले व्यवस्थापन गर्नेछ ।
    आइएमई डिजिटल सोलुसन लिमिटेडका बारेमाः
    झन्डै ३५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।
    आइएमई डिजिटलले ‘ आईएमई पे ’ ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्युआरमार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बीलहरू भुक्तानीमा सेवा प्रदान गर्दै आइरहेको छ । आइएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ्ग सुविधा प्राप्त नेपाली लगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ । मोबाइल वालेटमा ब्याज र क्यास ब्याकको पनि सुविधा उपलब्ध छ । विभिन्न प्रकारका वील भुक्तानी एवम् जुनसुकै बैंकका खातामा रकम पठाउन मिल्ने आइएमई पे वालेटको अर्को महत्वपूर्ण विशेषता हो ।

    प्रतिकृया दिनुहोस्