News Portal

  • आर्थिक मुद्दामा सरोकारवालाहरू एकै ठाउँमा उभिनुपर्छ : उद्योगमन्त्री

    आर्थीकसंसार संवाददाता२५ चैत्र, २०७८
    ९७८ पटक
    २५ चैत्र, २०७८

    काठामाडौं । नेपाल उद्योग परिसंघले विद्यमान आर्थिक समस्या समाधानका लागि गम्भीर पहल गर्न नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसमक्ष आग्रह गरेको छ । पछिल्लो समयमा निजी क्षेत्रले गम्भीर समस्याको सामना गरिरहनु परेको भन्दै परिसंघले अर्थतन्त्रलाई चलायमान बनाउन हालका समस्या समाधानतर्फ उद्योग मन्त्रीसमक्ष आग्रह गरेको हो ।
    भेटमा परिसंघका कार्यबाहक अध्यक्ष राजेशकुमार अग्रवालले नियमनकारी निकायहरूबाट नियन्त्रणमुखी नीति जारी गर्दै आर्थिक गतिविधि संकुचित गर्ने काम भइरहेको भन्दै यसले अर्थतन्त्रमा थप जटिलता सिर्जना गर्नेतर्फ सचेत रहन आग्रह गरे ।
    नेपाल राष्ट्र बैंकले वस्तु आयातमा नियन्त्रण गर्दा बजारमा नकारात्मक असर पर्नेतर्फ सचेत हुन पनि परिसंघले आग्रह गरेको छ । आयात बन्द हुँदा बजारमा कृत्रिम अभाव, मूल्यवृद्धिजस्ता समस्या सिर्जना गराउन सक्ने भएकाले सचेत रहन परिसंघले आग्रह गरेको हो ।
    भेटका क्रममा नवनियुक्त मन्त्री बडूले महत्त्वपूर्ण आर्थिक मुद्दाहरूमा सम्पूर्ण सरोकारवालाहरू एकैठाउँमा हुनुपर्ने बताएका छन् । नेपाल उद्योग परिसंघसँगको भेटमा मन्त्री बडूले अर्थतन्त्रको विषयमा नियमनकारी निकायहरू अलगअलग बाटो हिँड्न खोज्दा समस्या बढ्ने भन्दै सबै पक्ष एक भएर अघि बढ्नुपर्नेमा जोड दिए ।
    मन्त्री बडूले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्ने उल्लेख गरे । ‘अर्थतन्त्र निजी क्षेत्रले चलायमान बनाउने हो, सरकारको भूमिका तपाईंहरूका लागि सहजीकरण गरिदिने हो,’उनले भने ।

     

    प्रतिकृया दिनुहोस्