News Portal

  • उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने नेकपाको निर्णय

    बामदेबको फेरी भाग्य खुल्यो

    आर्थिकसंसार संवाददाता१८ भदौ, २०७७
    ८५७ पटक
    १८ भदौ, २०७७

    काठमाडौ । निक्कै माथापच्ची र जोडघटाउकाबीच सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले यही भदौ २० गतेबाट रित्त हुन लागेको राष्ट्रिय सभा सदस्यमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय वैठकले उपाध्यक्ष गौतमलाई सिफारिस गर्ने यसअघिको निर्णयलाई सदर गरेको हो । गत फागुन १४ मा बसेको सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभामा लैजान सिफारिस गर्ने निर्णय गरेको थियो । दुईवर्षे कार्यकाल समाप्त भएपछि सांसदको हैसियत गुमाउनुभएका खतिवडाले संवैधानिक व्यवस्थाअनुरुप अर्थमन्त्रीको जिम्मेवारी लिनुभएको थियो । नेकपा सचिवालय वैठकले गौतमलाई सिफारिस गर्ने औपचारिक निर्णय गरेसँगै अर्थमन्त्री खतिवडाको बहिर्गमन निश्चित भएको छ । राष्ट्रियसभाको दुईवर्षे कार्यकालमा पर्नुभएका खतिवडाले अर्थमन्त्रीको जिम्मेवारी लिनुभएको थियो । सांसद नभएका व्यक्ति बढीमा ६ महिना मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था छ । उहाँको ६ महिने समय अवधि शनिवार सकिँदैछ । अर्थमन्त्रीबाट खतिवडा बाहिरिने भएपछि तत्कालका लागि अर्थ र सूचना तथा सञ्चार मन्त्रीको जिम्मेवारी प्रधानमन्त्री आफैले राख्नुहुने भएको छ । पुर्ब सञ्चारमन्त्री गोकुल बास्कोटा सञ्चारमन्त्रीबाट राजीनामा दिएपछि प्रधामन्त्री ओलीले सञ्चार मन्त्रालय र सरकारको प्रवक्ताको जिम्मेवारी पनि खतिवडालाई नै दिनुभएको थियो । आजको सचिवालय बैठकले बामदेबलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेपछि अब उहाँलाई उपप्रधानमन्त्री सहित अर्थमन्त्रीको जिम्मेवारीमा लान सक्ने सम्भाबना रहेको नेकपाका एक केन्द्रीय सदस्यले बताउनुभएको छ । यसअघि उहाँले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधन भएमात्र आफू राष्ट्रिय सभा सदस्यमा जाने नत्र नजाने निर्णय गर्नुभएको थियो । त्यसका लागि संविधान नै संशोधन गर्ने पार्टीले निर्णय गरेर माधब नेपालको संयोजकत्वमा कार्यदल नै बनेपश्चात पार्टीभित्र विवाद उत्पन्न भएको थियो । पार्टीभित्र त्यस कुराको विवाद भएपछि त्यो विषय त्यतिकै रहेको थियो । तत्काल संबिधान संशोधन हुन नसक्ने र प्रत्यक्ष निर्वाचनबाट पनि साँसद हुन नसक्ने देखिएपछि उपाध्यक्ष वामदेबले यही अवस्थामा भए पनि आफू राष्ट्रिय सभामा जाने र त्यसका लागि फाल्गुन १४ गतेको पार्टीको निणर्य कार्यान्वयन हुनुपर्ने बताएपछि आजको सचिवालयमा यस विषयले प्रवेश पाएको र उक्त पहिलेको निर्णय कार्यान्वयनमा गई उहाँलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने निणर्य भएको बताइएको छ । यस विषयमा पार्टी प्रबक्ता नारायणकाजी श्रेष्ठले पनि उहाँलाई राष्ट्रियसभामा लैजाने पुर्ववत निर्णयलाई आजको बैठकले कार्यान्वयन गरेको बताउनुभएको थियो ।

    प्रतिकृया दिनुहोस्