News Portal

  • ‘बैंकहरुले गरिबमाथि गर्ने विभेदको अन्त्य सहकारीले गर्यो’

    आर्थीकसंसार संवाददाता२९ फागुन, २०७८
    १०८४ पटक
    २९ फागुन, २०७८

    काठमाडौं । राष्ट्रिय सहकारी महासंघका महासंघका पूर्व अध्यक्ष केशबप्रसाद बडालले सहकारीहरुले बैंकहरुले सर्वसाधारण तथा गरिबमाथि गर्ने विभेदको अन्त्य गरेको बताएका छन् । आइतबार नेपाल सहकारी पत्रकार समाज (सिजेएन), राष्ट्रिय सहकारी महासंघ, नेपाल र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा सहकारी क्षेत्रको समसामयिक विषयमा भएको छलफलमा उनले यस्तो बताएका हुन् ।
    पूर्व मन्त्री समेत रहेका उनले विगतमा वाणिज्य बैंकहबाट सर्वसाधारणले ऋण पाउन पनि मुस्किल भएको बताउँदै सहकारीहरु गाउँगाउँमा पसेर घरदैलोमा सेवा दिन थालेपछि बैंकहरु बाध्य भएर ऋण दिन तयार भएको बताए ।
    उनले विगतमा हुनेखानेहरुले मात्रै बैंकबाट ऋण पाउने गरेको बताए । सहकारीहरुले वाणिज्य बैंकको एकाधिकार तोडेको पनि बताए ।
    ‘विगतका दिनहरुमा सर्वसाधारणले वाणिज्य बैंकबाट ऋण पाउन सक्ने अवस्था थिएन, हुनेखानेले मात्रै ऋण पाउँथे, जब सहकारीहरुले आफ्नो काम सुरु गरे अहिले वाणिज्य बैंक ऋण लिइदिनु पर्यो भनेर घरमै आउँछन्, यो वातावरणको सिर्जना सहकारीले गरेको हो,’ उनले भने ।
    यस्तै उनले सहकारी अभियान यथार्थपरक ढंगले लाग्नु पर्ने बताए । ‘सहकारी अभियान सामाजिक व्यवसाय नै हो, राज्यको चौथो अंग र सहकारी अभियान मिलेर अगाडि जानुपर्ने आजको आवश्यकता हो,’ उनले भने ।
    कार्यक्रममा महासंघका अध्यक्ष मीनराज कँडेलले वाणिज्य बैंकहरुले व्याज बढाए मात्रै सहकारीको सन्दर्भ व्याज बढ्ने बताए । उनका अनुसार बैंकहरुले चैतमा व्याज नबढाउने सहमति गरेसँगै अब सहकारीको पनि नबढ्ने बताए ।
    ‘हिजो सहकारीको सन्दर्भ व्याजदर १४.७५ प्रतिशत हुँदा पनि सहकारीहरुले ११/१२ प्रतिशतमै कर्जा लगानी गरेको थिए, त्यतिखेर तरलताको सहज अवस्था थियो, तर, अहिले असहज अवस्थामा पनि सहकारीले १६ प्रतिशतमा दिएका छन्, बैंकहरुले नै १६ प्रतिशतमा दिएको विषय हामी सुनिरहेका छौं,’ उनले भने ।

     

    प्रतिकृया दिनुहोस्