ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडको नायव महाप्रबन्धक (डिजिएम) मा मनोज खड्का नियुक्त हुनुभएको छ ।
बैंकको पदपूर्ति उपसमितिको सिफारिसअनुसार उहाँलाई बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले फागुण १५ गते देखी कार्यभार समाल्ने गरी नियुक्त गर्नुभएको हो ।
उहाँलाई आईतबार बैंकको केन्द्रीय कार्यालयमा एक कार्यक्रमको आयोजना गरी बैंकका अध्यक्ष के.बी.उप्रेती सहित सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत, सहायक महाप्रबन्धक, उच्च व्यवस्थापनका कर्मचारीहरुलगायतको उपस्थितिमा नवनियुक्त डिजिएम खड्कालाई स्वागत गरी बधाई तथा शुभकामना ज्ञापन गरिएको थियो ।
भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका–१, दुवाकोट निवासी खड्का २९ वर्षदेखि बैकिङ्क क्षेत्रमा लामो अनुभव सँगाल्नुभएको उहाँले नविल बैंक, बैंक अफ काठमाडौं, प्राइम कमर्सियल बैंक, टुरिजम बैंकलगायतका बैंकहरुमा उच्च व्यवस्थापनमा रहेर काम गर्नुभएको थियो, तत्कालीन समयमा टुरिजम बैंक मर्जपश्चात बनेको मेगा बैंकमा उहाँ नायव महाप्रबन्धकको रुपमा कार्यरत हुनुहुन्थ्यो ।
व्यवस्थापन विषयमा स्नातकोत्तर गर्नु भएका खड्काको २९ वर्षे बैंकिङ्क करियरमा नेतृत्व विकास, व्यवसाय विस्तार, संस्थागत विकास, कर्पोरेट म्यानेजमेन्टलगायतको क्षेत्रहरुमा विशेष अनुभव रहेको छ ।
कार्यक्रममा बैंकका अध्यक्ष के.बी. उप्रेतीले स्वागत गर्दै यसअघिको बैंकिङ्क क्षेत्रमा भएको अनुभव र नयाँ योजनका साथ कार्य गरी बैंकको विकास र प्रवद्र्धन हुनेगरी कार्य गर्न सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।
स्वागत कार्यक्रममा बोल्दै नवनियुक्त नायव महाप्रबन्धक खड्काले आफ्नो अनुभवलाई राष्ट्रिय सहकारी बैंकको व्यवसाय विस्तार र संस्थागत विकासको क्षेत्रमा लगाउने भन्दै सहकारी बैंकलाई आधुनिक टेक्नोलोजि र डिजिटाइजेशनको क्षेत्रमा विकास गर्ने गरी बैंकिङ्क क्षेत्रमा आफुले हासिल गरेको अनुभवलाई कार्यान्वयनमा ल्याउने गरी कार्य गर्ने उल्लेख गर्नुभयो ।
उहाँले बैंक प्रतिको जनविश्वास, निष्ठा कायम राख्दै गुण्स्तरीय सेवा प्रदान गर्न सदा तत्पर रहने प्रतिबद्घता जनाउनु भएको छ । त्यसैगरी उहाँले बैंकको लक्ष्य र उद्देश्य प्राप्तिका लागि आफु साथसाथै सम्पूर्ण कर्मचारीलाई प्रयत्नशील रहन आग्रह गर्नुभएको छ ।
कार्यक्रममा बैंकका अध्यक्ष के.बी. उप्रेती, सञ्चालकहरु सरिता भट्टराई, रामहरी बजगाई, ज्ञानबहादुर तामाङ्ग, पार्वती थापा मगर, केदार मानन्धर, प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाई, सहायक महाप्रबन्धक राजेश श्रेष्ठ, विभागीय प्रमुखहरुलगायत केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।